सगरमाथा आरोहणका लागि ४ सय बढीलाई अनुमति, तेस्रो शिविरसम्म बाटो खुल्यो

आधारशिविरमा फिल्ड कार्यालय स्थापना

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु, बैशाख १५ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ४ सय बढीलाई अनुमति प्रदान गरिएको छ । पर्यटन विभागका अनुसार आइतबार सम्म सगरमाथा आरोहणका लागि ५३ देशका ४०२ आरोहीलाई अनुमति प्रदान गरिएको हो । विभागका निर्देशक लीलाधर अवस्थीले ४१ आरोही समूहले अनुमति लिएको जानकारी दिनुभयो ।

त्यसमध्ये ७४ महिला आरोही छन्। अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल चार सय १४ जनाले अनुमति लिएका थिए। यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु. ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ।

आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही नेपाल आइरहेका छन्। अधिकांश आरोहण अनुमति लिएर सगरमाथा क्षेत्र पुगिसकेका छन् । कतिपय आरोही अनुमतिको प्रक्रियामा छन् ।

वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। पर्यटन विभागले आधार शिविरमा सम्पर्क कार्यालय खोलेर आरोहणको व्यवस्थापन गरिरहेको छ ।

यो सिजनमा सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन्। अनुकूल मौसमको सदुपयोग गर्दै शेर्पा टोलीले तेस्रो शिविरभन्दा माथि बाटो बनाइरहेका छन्।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (सपीसिसी) ले आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो यसअघि नै बनाइसकेको छ। तेस्रो शिविरसम्म बाटो बनेको र अबको साता, १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने पर्यटन विभागको अनुमान छ।

आरोहण अनुमति लिएका आरोही झण्डै एक महिनादेखि सगरमाथा क्षेत्रमा आरोहण अभ्यासमा छन् । यस्तै ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका कामीरिता आफ्नै कीर्तिमानी तोडेर ३१ औँ आरोहणका लागि सगरमाथा पुग्नु भएको छ ।

आधार शिविर रङ्गीचङ्गी पाल र आश्रयस्थलले बेहुली झै सिँगारिएको छ । समुद्री सतहबाट ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको आधार शिविर क्षेत्रमा ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ आदिको व्यवस्थापन गरिएको छ।

५ सय भन्दा बढी पाल टाँगिएका छन्। आरोही, सहयोगी, कुक, किचन हेल्पर गरी १ हजार ३ सयभन्दा बढी आधार शिविरमा छन् ।

एटके एक्सपीडिसन कम्पनीका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले विभिन्न कम्पनीले आरोहीको खाना तथा बास व्यवस्थापनका लागि बनाइएका रङ्गी विरङ्गी पालका सजावटले आधार शिविर रमाइलो देखिएको बताउनुभयो ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा सगरमाथा क्षेत्रमा आरोहीको ओइरोले बेग्लै माहोल बनेको बताउनुभयो । ’सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट जम्मा भएका भीडले विश्वको ध्यान खिचिरहेको उहाँको भनाइ रहेको छ ।

केही दिनयता सामाजिक सञ्जालमा चाँदी झैँ टल्किएका सगरमाथासहितका हिमालका तस्बीर र सुन्दरगाउँको भझल्को दिने सगरमाथा आधारशिविरले संसारको ध्यान खिचेको छ ।

यसले नेपालको साहसिक पर्यटनलाई विश्वबजारमा परिचय दिलाउन मद्दत पुगेको छ । लुक्लादेखि सगरमाथा आधार शिविरसम्म पर्वतारोही, पदयात्री र सहयोगीहरूको लामो लस्कर देखिने बताइएको छ ।

सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणका लागि विभिन्न मुलुकबाट आएका आरोहीको जमघटले आधार शिविरको वातावरण उल्लासमय बनेको बताउनुभयो ।

सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) जिम्मेवारी एटके कम्पनीले पाएको छ। करिब ९० प्रतिशत आरोही सगरमाथा आधार शिविर पुगेको प्रबन्ध निर्देशक शेर्पाको भनाइ छ ।

सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ । सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागेका छन्।

सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील भए पनि आरोहीले ज्यान नै दाउ लगाएर आरोहण गरिरहनु भएको छ । यस सिजनमा सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पाले २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यसहित आरोहणमा निस्किनु भएको छ ।

सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखर टेकिसकेका छन् भने नयाँनयाँ कीर्तिमान थपिने क्रम जारी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार