थुलुङ दुधकोशीको वित्तिय प्रगति ९४ प्रतिशत, भौतिक विकास संगै सामाजिक विकास गरिरहेको अध्यक्ष राईको भनाई

  हिमाल समाचार
105 Shares

सोलुखुम्ब, बैशाख १५ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक वर्षको हालसम्म ९४ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ ।  सोमबार सम्पन्न गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म निकाशा भएको रकम मध्ये ९४ प्रतिशत वित्तिय प्रगति भएको जनकारी गराइएको हो ।

पालिका अध्यक्ष असिम राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदीप राईले पालिकाको चालु आर्थिक वर्षका लागि रु। ६० करोड बजेट अनुमानित गरिएकोमा हालसम्म रु. ४२ करोड निकाशा भएकोमा उक्त रकमको ९४ प्रतिशत काम सम्पन्न भई भुक्तानी भएको बताउनुभयो । साथै वहाँले हालसम्म १० वटा कार्यपालिका बैठक बसेको, एउटा गाउँसभा, एउटा ऐन र ६ वटा कार्यविधि जारी गरेको विवरण सार्वजनिक गर्नु भयो ।

गाउँपालिका अध्यक्ष असिम राईले पालिकाको समग्र प्रगति विवरण सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, सडक र पुल निर्माणलाई प्राथमिक्तामा राखेर काम गरेको बताउनुभयो ।

यो वर्ष थुलुङदुधकोशी अस्पताललाई संघिय सरकारबाट डाक्टरको दरबन्दि ल्याउनुका साथै स्वास्थ्य विमा कार्यक्रम लागु भएको, प्राविधिक शिक्षालयबाट शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको, २ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएको र दुधकोशीको पुलको काम थालनी सङ्गै सामाजिक विकासलाई सङ्सङ्गै अघि बढाईएको उहाँले बताउनुभयो ।

रेडियो एभरेष्टको सहजिकरणमा भएको कार्यक्रममा वहाँले प्रदेश स्तरीय खेल ग्राम ७० प्रतिशत निर्माण सम्पन्न भएको, नेले–चारघरे –मुक्लि सडक कालोपत्रे शूरु भएको, सुकेपोखरी पर्यटन क्षेत्र निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

खानेपानी समस्या समाधान गर्न पंचन र जुबुमा वाटर लिफ्टिङ परियोजना अगाडी बढाईएको, कृषिको बजारिकरणमा कृषि एम्बुलेन्सलाई चालु अवस्थामा राखिएको, कफि प्रशोधन केन्द्र बनाईएको र खाने तेलमा धेरै हदसम्म आत्मानिर्भर हुने गरि भईरहेको कामको प्रगति विवरण अध्यक्ष राईले सुनाउनु भयो ।

सार्वजनिक सुनुवाईमा पालिका उपाध्यक्ष सविता राईले थुलुङदुधकोशीमा योजना अनुगमन र न्याय सम्पादनको काम चुस्त र प्रभावकारी भएको भन्दै भ्रष्टाचार शुन्य रहेको उल्लेख गर्नुभयो । पालिकाको सभाहलमा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेले पालिकाको नेतृत्व अब्बल भएकै कारण शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई सहयोग पुगेको बताउनुभयो ।

सेवाको सिलसिलामा धेरै स्थानीय सरकार सङ्ग सहकार्य गरि काम गरिरहेको भएपनि थुलुङ दुधकोशी गाउँपालिकाको नेतृत्व र यहाँका जनप्रतिनिधि उदाहरणीय पाएको भन्दै धन्यवाद समेत दिनुभयो ।

सुनुवाईको प्रश्नोत्तर सत्रमा बोल्ने अधिकांश नागरिकले स्थानीय सरकारले चौतर्फि क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै नेतृत्वको प्रशंसा गरेका छन् । कार्यक्रममा सहभागि बृद्ध बृद्धादेखि युवा सम्मले पालिकाले विकास निर्माण र सेवा प्रवाहमा सबै भन्दा उत्कृष्ट काम गरेको भन्दै सन्तुष्टि प्रकट गरेका छन् ।

उनीहरुले खानेपानी, कृषि र आन्तरिक पर्यटनको क्षेत्रमा थप प्रभावकारी काम गर्न सुझाव दिएका छन् । सहभागिहरुको सवालको जवाफ दिँदै पालिका अध्यक्ष राइले जनताले उठाएको माग आगामि आर्थिक वर्षकै कार्यक्रम र बजेटमा समावेश गर्ने र जनताको अधिकारका लागि २४ सै घण्टा खटेर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पालिकाका निर्वाचित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विब्यस अध्यक्ष, प्रधानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार