सोलुखुम्बु, बैशाख १६ । सोलुखुम्बुको गार्माका ६ वटा कृषक समुहलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । आज सोमबार सोलुदुधकुण्ड नगरपालिका ७ गार्माका ६ वटा कृषक समुहहरुलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुको आर्थिक सहयोगमा खरिद गरिएको टनेला, हजारी, थोपा सिचाँइको लागि ट्याङ्की, विभिन्न्न किसिमका विउ विजनहरु, पाइप, स्प्रे लगायतका सामग्रीहरु कृषकलाई हस्तान्तरण गरिएको हो। साथै उक्त सामग्रीहरुको खरिद गर्दा लागेको लागतको पनि सार्वजनिक सुनुवाइ गरिएको ताजा तरकारी मिश्रीत कृषक समुहले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तगर्त नयाँ तरकारी ब्लक विकास कार्यक्रमको लागि जम्मा १२ लाख ८२ हजार २ सय रुपैयाँको सामग्री खरिद गरिएको छ । जसमा कृषि ज्ञान केन्द्रको ८ लाख ३० हजार र समुहको तर्फबाट ४ लाख ५२ हजार २ सय रुपैयाँ लागत रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद निरौलाले कृषकले पाएका कुरालाई सहि ठाउँमा सदुपयोग गर्दै उत्पादनमा जोड दिनु पर्ने बताउनुभयो । कृषकलाई सामग्री हस्तान्तरण गरे पछि बेला बेलामा त्यसको अनुगमन गर्नु पर्ने र राम्रो गर्नेलाई प्रोत्साहन तथा समानको प्रयोग नगर्नेलाई त्यही अनुसारको सजाय हुनु पर्ने धारणा राख्नुभयो ।
यस्तै सोलुदुधकुण्ड नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले गार्मा बासीले धेरै भन्दा धेरै तरकारी उत्पादन गरेर खुम्बु क्षेत्रमा दुवानी गर्न सकेको खण्डमा आर्थिक रुपले पनि सबल बन्न सकिने बताउनुभयो । साथै गार्मामा उत्पादन भएको तरकारीको लागि बजारीकरणको व्यवस्था नगरपालिकाले गर्ने उहाँले बताउनुभयो ।
यस्तै गार्माका कार्य वहाक वडाध्यक्ष भलाकाजी कार्कीले कृषकहरुलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्दै आगामी दिनहरुमा पनि आवश्यक कृषि समानहरु वितरण गर्ने बताउनुभयो । साथै वितरण गरिएको सामग्रीको प्रयोग गरे नगरेको चेकका लागि अनुगमन कार्यलाई समेत तिव्रता दिने उहाँको भनाइ छ ।
कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले राज्यले कृषकलाई दिने स्रोत र साधनको उचित प्रयोग गर्दै व्यावसाहिक मुखी बन्नु पर्ने बताउनुभयो । सानो क्षेत्रबाट सुरु गरेको व्यवसायलाई बढाउदै लगेको खण्डमा आर्थिक रुपमा समेत राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ रहेको छ ।
आज हस्तान्तरण गरेको कृषि सामग्रीले गार्माका ६ वटै समुहका १ सय ३४ जना कृषकहरु लावांभित हुने जनाइएको छ । कार्यक्रममा अधिकांशले गार्मामा उत्पादन भएको वस्तुलाई प्राथमिकताका साथमा राखेर खरिद गर्ने बताएका छन् । कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख निरौला तथा मिश्रीत कृषक समुहका अध्यक्ष छोटी माया शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो ।