शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुको ८ औं स्थापना दिवस, विभिन्न शसस्त्र प्रहरीलाई पुरस्कृत

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु, बैशाख १७ । शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुको ८ औं स्थापना दिवस मनाइएको छ । आज बुधबार सल्लेरीमा रहेको कार्यालयमा विभिन्न शसस्त्र प्रहरी, जिल्लाका केही पालिका र समाजसेवीलाई प्रशंसा  र  कदर पत्र प्रदान गर्दै स्थापना दिवस मनाइएको हो । वि.सं. २०७४ बैशाख १७ गते स्थापना भएको शसस्त्र प्रहरीले सातौं वसन्त पार गर्दै आठौं वसन्तको प्रवेश गरेको दिनमा केक समेत काटेको छ ।

उक्त केक सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे र गुल्मपति  शसस्त्र  प्रहरी नायव उपरीक्षक   गोविन्द पोखरेलले संयुक्त रुपमा काटेर एक अर्कालाई खुवाउनु भएको थियो ।

यस्तै सोलुखुम्बु जिल्ला सहित देश भर नै विभिन्न समयमा ज्यान गुमाएका ३ सय २० जना शसस्त्र प्रहरीको सम्झनामा माल्य अपर्ण समेत गरिएको थियो । स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा ९ जना शसस्त्र प्रहरीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

यस्तै प्रमुख जिल्ला अधिकारी घिमिरे लाई मायाको चिनो, थुलुङ दुधकोशी गाउँपालिका ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की, खुम्बु पासाङ ल्हामुका पालिका प्रतिनिधि तथा सोलुदुधकुण्ड नगर पालिका ५ का वडा अध्यक्ष मिङमार तामाङ, ६ का वडा अध्यक्ष एवं नगर प्रवक्ता फुर्वा ग्याल्जने शेर्पा, योङ स्टार क्लब दोर्पूसहित विभिन्न समाजसेवी व्यक्तिलाई समेत कदर पत्रले सम्मान गरिएको थियो ।

आठौं स्थापना दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले शसस्त्र प्रहरीले आपत विपदमा गरेका सहयोगको खुलेरै प्रशंसा गरेका थिए ।

यस्तै गुल्मपति पोखरेलले कार्यक्रममा सहभागी जनाउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । हिमाली जिल्ला सोलुखुम्बुमा स्थापना दिवस यसरी मनाइएको भने पहिलो पटक हो ।

कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी घिमिरे,सहायक प्रमुख जिल्ला अधिकारी चिरीन्जीवि सापकोटा, अनुसन्धान अधिकृत निर्मल पौडेल, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि एवं समाजसेवी व्यक्तिहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार