मन्थली – लुक्ला उडान प्रभावित, सगरमाथा भ्रमणमा आएका पर्यटक रामेछापमै

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु, बैशाख १८ । बिहीबार बिहानैदेखि वर्षा हुँदा रामेछापको मन्थली-लुक्ला उडान अवरुद्ध भएको छ । उडान अवरुद्ध हुँदा सोलुखुम्बुको सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक रामेछाप सदरमुकाम मन्थली मै रोकिएका छन ।

वर्षाका कारणले तेन्जिङ हिलारी विमानस्थल लुक्लाको मौसम खराब हुँदा बिहीबार अहिलेसम्म मन्थली-लुक्ला उडान हुन नसकेको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताउनुभयो ।

उडान अवरुद्ध हुँदा मन्थलीबाट लुक्ला जाने पर्यटक र लुक्लाबाट फर्कने पर्यटक प्रभावित बनेको उहाँले बताउनुभयो । बिहीबार मन्थलीबाट लुक्ला जाने ५० जना भन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन् ।

अहिले यो सिजनको सगरमाथा क्षेत्र भ्रमण गरी फर्कने समय भइसकेकाले लुक्ला जाने भन्दा फर्कने पर्यटक धेरै रहेको उहाँले बताउनुभयो । अहिले सगरमाथा क्षेत्रमा वसन्त ऋतुको आरोहण चलिरहेको छ ।
चैतदेखि सुरू भएको यो सिजनको आरोहण जेठ महिनासम्म चल्छ । सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमानस्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्‍याउने गरेको छ ।

चैतदेखि जेठ महिनासम्म र असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थलमार्फत् बाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरिएको छ । बिहानैदेखि मौसम खुलेको समयमा एकै दिन ८ सय ५० जनासम्म पर्यटक मन्थलीबाट लुक्ला पुग्ने गरेका छन् ।

– फायल फोटो


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार