सोलुखुम्बु, बैशाख २० । मध्यपहाडी जिल्ला खोटाङमा बसाइँ सर्नेको संख्या बढ्दो छ । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीको खोजी लगायतका कारण बसाइँ सर्नेको संख्या बढेको हो । पछिल्लो २ वर्षको अवधिमा जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका २६ घर भन्दा बढीले गाउँ छाडेर बसाइँ सरेका छन् ।
अन्यले पनि बसाइँ सर्ने तयारी गरिरहेको दिप्लुङका स्थानीय वीरबल किरातीले बताउनुभयो । उनीहरू शिक्षा, स्वास्थ्य, खानेपानी, बाँदर आतंक लगायतका कारण बसाइँ सर्ने गरेको उहाँको भनाइ रहेको छ । कतिपय भने सम्पन्नताका कारण थप सुविधाका लागि शहर पस्ने गरेका छन् ।
जन्तेढुंगा गाउँपालिकामा पछिल्लो पाँच वर्षमा ३ सय ४३ घर परिवार बसाइँ सरेको गाउँपालिकाका पन्जीकरण शाखाका विवश राईले बताउनुभयो । बराहपोखरी गाउँपालिकामा पनि बसाइ सर्नेको संख्या उस्तै रहेको छ ।
बराहपोखरी गाउँपालिका–१ निगालेका कुमार नेपाली, दुर्गा नेपाली, तिलकबहादुर नेपाली, लालबहादुर राउत, टिका राउत, गोपाल विष्ट लगायत बसाइँ सरेका छन् । पालिकामा बसाइँ सर्नेको संख्या धेरै भए पनि एकीन विवरण भने नभएको पालिका अध्यक्ष शालिकराम बन्जराले बताउनुभयो ।
यस्तै खोटेहाङ गाउँपालिकामा ५ वर्षको अवधिमा १ हजार ५६ घर परिवारका ३ हजार ५ सय ५० जनाले बसाइँ सरेको सूचना अधिकारी रोशन पौडेलले बताउनुभयो । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ५ वर्षको अवधिमा ६ सय ६१ परिवारका २ हजार ९३ जनाले बसाइँ सरेको पन्जीकरण शाखाका यमन श्रेष्ठले बताउनु भएको छ ।
त्यसैगरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ५ वर्षको अवधिमा १ हजार ८६ घर परिवार बसाइँ गएको पन्जीकरण शाखाकी श्रीदेवी राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकामा पाँच वर्षको अवधिमा पाँच सय २१ परिवारका एक हजार ६ सय ४४ जना बसाइँ सरेको पन्जीकरण शाखाकी नविना राईको भनाइ छ ।
जिल्लाकै रावाबेसी गाउँपालिकामा ५ वर्षको अवधिमा ५ सय ४३ घर परिवारको १ हजार ७ सय ४० जना बसाइँ सरेको पन्जीकरण शाखाका गिरीराज मगरले बताउनुभयो । त्यस्तै ऐसेखलुखर्कमा ५ वर्षको अवधिमा ४ सय ५३ परिवारका १ हजार ४ सय ९२ जनाले बसाइँ सरेको पन्जीकरण शाखाका निमराज तामाङले बताउनुभयो ।
केपिलासगढी गाउँपालिकामा ५ वर्षको अवधिमा १ हजार ७० जना बसाइँ सरेको पन्जीकरण शाखाका प्रकाश रिमालले बताउनुभयो । साकेला गाउँपालिकामा पनि बसाइँ सर्नेको संख्या ठूलै रहेको गाउँपालिकाले जनाएको छ ।
जिल्लामा बर्सेनि बसाइँ सर्नेको संख्या बढ्दै जाँदा यसको न्यूनीकरण गर्न स्थानीय तह, प्रदेश र संघीय सरकार गरी सिंगो राज्य नै लाग्नुपर्ने जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो ।
बर्सेनि बसाइँ सरेर गाउँ रित्तो हुँदै गएकाले यसको न्युनीकरण स्थानीय तहले मात्र गर्न नसक्ने भएकाले प्रदेश र संघीय सरकार पनि लाग्नु पर्ने उहाँको भनाइ रहेको छ ।