सोलुखुम्बुमा स्वास्थ्य जीवन प्रवर्द्धनको लागि योगा कार्यक्रम आयोजना

  हिमाल समाचार
140 Shares

सोलुखुम्ब, बैशाख २१ । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य जीवन प्रवर्द्धनको लागि योगा कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुले योगा कार्यक्रम आयोजना गरेको हो ।  आज आइतबारबाट सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पूमा रहेको योङस्टार कबर्ड हलमा सुरु भएको योग अभ्यास कार्यक्रमको कोशी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

योग अभ्यास ७ दिनसम्म नितन्तर सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी केशव ढुंगानाले बताउनुभयो । सल्लेरी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आफ्नो स्वास्थ्यलाई केहीहत सम्म भए पनि सन्तुलित गराउनका लागि योग गर्न सक्ने उहाँले बताउनुभयो ।

यस्तै योग अभ्यास कार्यक्रमको आयोजनासँगै स्वास्थ्य कार्यालयबाट निःशुल्क रगत र सुगरको समेत परिक्षण गरिने छ । योग अभ्यास कार्यक्रमको लागि योग गुरु नै ल्याएर प्रशिक्षण दिन थालिएको हो ।

योगले हाम्रो शरीरलाई फाइदा पुग्ने भएकाले यो गर्न जरुरी रहेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले बताउनुभयो । यसलाई निरन्तरता दिएको खण्डमा शरीरमा रक्त संचारका साथै अक्सिजनको मात्रा बढाउने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा योग स्वस्थ जिवन शैलीका लागी अति आवश्यक रहेको उहाँले बताउनुभयो ।

शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योग गर्नुपर्ने योग गुरु खिलानाथ वास्तोलाले बताउनुभयो । योगको माध्यमबाट मानिस निरोगी र स्वस्थ भएर बाँच्न सकिने जनाइएको छ । पछिल्लो समयमा रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएकाले योग गर्नु महत्वपूर्ण मानिन्छ ।

नियमित योग गर्न सकेमा योगका आसन र ध्यानले जोर्नीको समस्या कम गर्ने, योगले तनावलाई घटाउने, नियमित योग गर्ने व्यक्तिलाई निद्राको समस्या नहुने, योग अभ्यासले पाचन प्रक्रियालाई सही किसिमले सुचारु गर्न सहयोग पु¥याउने, बालबालिकालाई योगअभ्यास गराउँदा उनीहरुको दिमाग तीक्ष्ण हुने र शारीरिक रुपमा पनि स्वास्थ्य रहन सक्ने बताइएको छ ।

यस्तै योगको नियमित अभ्यासबाट कार्यक्षमतामा वृद्धि हुने, योगले मानसिक शान्ति प्राप्त हुने, प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण गर्ने, ध्यानले एकाग्रता बढाउने, योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुने र शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढि हुने भएकाले सकारात्मक गुणको विकास हुने योग गुरुहरुले बताउने गरेका छन् ।

स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको छ । स्वास्थ्य कार्यालयको आयोजनमा सुरु भएको योग अभ्यासमा कार्यालयका निमित्त कार्यालय अमेन्द्र कुमार पंडित तथा कोशीप्रदेश सांसद राजभण्डारी कार्यक्रमको प्रमुख अथिति रहनु भएको थियो ।

यस्तै योग अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुुम्बुका प्रमुख निरौला, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका घिमिरे, राष्ट्रिय अनुसन्धान अधिकृत निर्मल पौडेलसहित जिल्लामा रहेका सुरक्षाकर्मी, यस्तै जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरु र स्थानीयहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार