सोलुखुम्बु, बैशाख २२ । सोलुखुम्बुमा मानव अधिकार शिक्षा कार्यक्रम आयोजना गरिएको छ । आज सोमबार जिल्ला सदरमुकाम सल्लेरीमा नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनले संयुक्त रुपमा मानव अधिकार शिक्षा कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रमको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मेयर शेर्पाले गाउँ गाउँमा जानी जानी वा नजानी पनि मानव अधिकारका घटनाहरु भइरहेको बताउनुभयो ।
राज्य पक्षले मानव अधिकारका घटनाहरु कम गर्नका लागि मानविय शिक्षा प्रदान गर्नु पर्ने बताउनुभयो । जनता आफै चनाखो भएको खण्डमा यस्ता खालका घटनाहरुमा कमि आउने मेयर शेर्पाको भनाइ रहेको थियो ।
यस्तै कार्यक्रमका सभापति रमेश कुमार बस्नेतले जिल्लाको अन्य स्थानीय तहमा कार्यक्रम भइरहेकाले आगामी दिनमा खुम्बु पासाङल्हामु गाउँपालिकामा मानव अधिकारका कार्यक्रम गर्नु पर्ने उहाँको भनाइ रहेको छ ।
साथै नगरपालिकाका ११ वटै वडामा पनि मानव अधिकारका कार्यक्रम गर्ने योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रमको प्रशिक्षक नेपाल मानव अधिकार संगठन उपाध्यक्ष शम्भु कुमार लामा र केन्द्रिय प्रशिक्षण विभागका विभाग प्रमुख प्राध्यापक डाक्टर गोविन्द प्रसाद ढकालले गर्नु भएको थियो ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर शेर्पासहित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका घिमिरेसहित सुरक्षाकर्मीहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, शिक्षक, विद्यार्थीका साथै सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।