सोलुखुम्बु, बैशाख २३ । सोलुखुम्बुका ७५ वर्षीय वृद्धलाई नागरिकता प्रदान गरिएको छ । आज मंगलबार जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले नेचासल्यान गाउँपालिका ५ का लुवान सिं राई नागरिकता प्रदान गर्नु भएको हो ।
वि.सं. २००८ साल मंसिर २९ गते जन्मिनु भएका राई कामको सिलसिलामा भारत जानु भएको थियो । गत असोज महिनामा घर आउनु भएका बुबालाई आफू गाउँमै भएको बेलामा नागरिकता बनाइ दिएको उहाँका छोरा दिल कुमार राईले बताउनुभयो ।
बाबु छोराको ४१ वर्षमा भेट भएको छोरा दिल कुमारले बताउनुभयो । उ बेलामा नागरिकता आवश्यक नपर्ने नभएकाले आफूले नागरिकता नबनाएको बुबा लुवान सिंको भनाइ छ । तर आफू भारतबाट नेपाल फकिर्ने बेलामा नागरिकताकै कारणले विभिन्न समस्या समेत झेल्नु परेको उहाँले सुनाउनुभयो ।
जिल्ला प्रशासनले कुनै पनि दुःख नदिइ सहज रुपमा बुबालाई नागरिकता प्रदान गरेको भन्दै छोरा दिल कुमारले उहाँले खुशी व्यक्त गर्नु भएको छ ।
उक्त नागरिकता प्राप्त गरेसँगै राईले अब नेपाल सरकारले दिने सेवा सुविधा पाउने हुनु भएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि बृद्ध बुबालाई नागरिकता प्रदान गर्न पाउदा खुसी रहेको बताउनुभयो ।