सोलुखुम्बु, बैशाख २४ । सोलुखुम्बुको पत्ताले, गौरी टाप क्षेत्रमा हुने स्पार्क एड्भेञ्चरमा दुई दर्जन बढी कलाकारको सहभागी रहने भएको छ । सोलुखुम्बुको पत्ताले, गौरीटाप र ओखलढुंगाको रुम्जाटार आसपासका पर्यटकीय गन्तव्य प्रर्वद्धन गर्ने उद्देश्यले तेस्रो स्पार्क एड्भेन्चरमा दुई दर्जन बढी कलाकारको सहभागी रहने भएको हो ।
स्पार्क कारले आयोजना गर्न लागेको एड्भेन्चरमा अभिनेता राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अभिनेता एवं क्याप्टेन विजय लामालगायत दर्जनभन्दा बढी कलाकार सहभागी हुने भएका छन् । स्पार्क एड्भेञ्चरमा गायिका आनी छोइङ डोल्मा, हास्यकलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र पनि सहभागी हुँदैछन् ।
त्यस्तै बीबीसी मास्टरसेफ सन्तोष शाह, फिल्म निर्देशक रामबाबु गुरुङ एवं मीन भाम, नायट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक, डन डिरेक्टर अमन प्रताप अधिकारीको पनि उपस्थिति हुने स्पार्क एड्भेन्चरका संयोजक अमरदीप भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार दोस्रो दिन दिउँसो रुम्झाटारमा कन्सर्ट आयोजना गरिनेछ । कन्सर्टमा स्थानीय कला संस्कृतिसँगै वरिष्ठ गायक दीप श्रेष्ठ, प्रेमराजा महत, राजु लामा, सुनिता दुलाल, बिमलराज क्षेत्री र आस्था रावतललगायतको सांगीतिक प्रस्तुति रहनेछ ।
ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको स्पार्क कारका निर्देशक सिताराम घिमिरेले बताउनुभयो ।
प्रचूर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको उहाँले बताउनुभयो ।
स्पार्क कारले स्पार्क एड्भेन्चरकी पहिलो संस्करण सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह शिकार अवलोकनलाई प्रर्वद्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सिमानामा रहेको शैलुङको पर्यटन प्रवद्र्धन गरेको थियो ।