सोलुखुम्बु, बैशाख २४ । खोटाङमा अन्तरजातीय विवाह गर्ने ४२ जोडीलाई सम्मान गरिएको छ । जिल्लाको खोटेहाङ गाउँपालिकाले अन्तर जातिय विवाह गर्ने ४२ जोडीलाई सम्मान गरेको हो ।
९ वटा वडा रहेको पालिकाका ८ वडा अन्तरजातिय विवाह गरेका जोडीलाई मंगलबार एक कार्यक्रमको आयोजना गरेर नगद र प्रमाणपत्रले सम्मान गरिएको हो । फरकफरक समुदायका भएपनि विवाह बन्धनमा बाँधिएर घरजम गरेर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।
पालिकाको दलित लक्षित कार्यक्रम अन्तरगत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको पालिका अध्यक्ष उदिमबहादुर राइले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नं. १ का ४, वडा नं. २ का १, वडा नं. ३ र ४ का ४÷४ जना, वडा नं. ६ का ६, वडा नं. ७ का १, वडा नं. ८ का ११ र वडा नं. ९ का ९ जनालाई सम्मान गरेको हो । वडा नं. ५ मा भने केही समयपछि अर्को कार्यक्रम राखेर सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।
अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताउनुभयो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको पालिकाले जनाएको छ । सम्मान कार्यक्रमको अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले वडास्तरीय जनचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको थियो ।
सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेका विभेद र छुवाछुतका विषयमा प्रस्तुतिकरण समेत दिनु भएको थियो ।