शिथिल खुम्बु

  दिपेन्द्र पराजुली
882 Shares

सोलुखुम्बु – गत वर्ष यहि समयमा पर्यटकले खचाखच रहेको सोलुखुम्बुको खुम्बु क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकीय ‘सिजन’ को समयमा भरिभराउ लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल, होटल, लज लगायतका स्थान कोरोना महामारीकै कारण चैत्र महिना देखि सुनसान छ ।

जहाज मार्फत खुम्बु प्रवेशद्वार मानिएको लुक्ला क्षेत्रमा मानिसको चहलपहल छैन । विगतका वर्षमा आरोहण सिजन र पिक सिजनमा विदेशी पर्यटक, पर्यटकको भरियाले पर्यटकिय पदमार्ग व्यस्त हुने भएपनि यो वर्ष पर्यटकको आवागमन ठप्प भएपछि खुम्बुमा मानिसको चहलपहल ठप्प जस्तै बनेको हो । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–७६ मा ५७ हजार ९ सय ९० पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका छन् ।

तर आर्थिक वर्ष २०७६–७७ मा भने यो संख्याको तुलनामा खुम्बु आउने पर्यटक कमी भएको देखिन्छ । गत आर्थिक वर्षमा ३२ हजार ६३७ जना मात्रै पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए ।

चपेटामा व्यवसायी

खुम्बुमा रहेका सगरमाथा, लबुचे लगायतका हिमाल आरोहण तथा घुम्नका लागि पर्यटक आउने गरेका छन् । २०७६ सालको चैत्र महिनादेखि पर्यटकको आवागमनमा ठप्प हुँदा कतिपय होटल व्यवसायीले खुम्बु क्षेत्र छाडेका छन् । खुम्बु क्षेत्रमा करिब २ सयको हाराहारीमा होटल रहेका छन् । पर्यटक र तिनका सहयोगीलाई लक्षित गर्दै सञ्चालनमा ल्याईएका होटल नचल्दा व्यवसायी समस्यामा परेको होटल एसोसिएसन नाम्चेका सल्लाहकार लामाकाजी शेर्पाले बताए ।

उनले भने, “कोरोनाका कारणले खुम्बुका होटल व्यवसायीको उठिबास हुन लाग्यो, बैंकबाट होटल बनाउन लिएकोे कर्जा तिर्न नसक्दा कतिपय व्यवसायीले ऋण तिर्नका लागि पेशा परिर्वतन गर्न थालिसके । सरकारले व्यवसायीलाई लक्षित गर्दै राहतको प्याकेज ल्याउनुपर्छ ।” शेर्पाका अनुसार पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचे लगायतका ठाउँमा रहेका होटल सञ्चालकहरु मर्कामा परेका छन् ।

खुम्बु क्षेत्रमा पर्यटकको भरिया बनेर नै जिविकोपार्जन गरिरहेकाहरुको समेत रोजिरोटी गुमेकाले सरकारले यस तर्फ ध्यान दिनुपर्ने उनले बताए ।

भ्रमण नगर्न पालिकाको उर्दी

खुम्बु पासाङल्हमु गाउँपालिकाले भने होटल व्यवसायीले सेवा दिन नसक्ने बताएको भन्दै भ्रमणमा कडाई गरेको छ ।

सबै उडान कम्पनीहरुलाई पत्राचार गरेर यात्रु नल्याउन भनेको हो । पालिका भित्रका आउनै पर्ने ब्यक्ति भए पिसिआर नेगेटिभ रिपोर्ट भएका (७२ घण्टा भित्र)लाई मात्र प्रवेश दिने भनेको हो ।

पालिकाले खुम्बु क्षेत्रमा एक बृद्धलाई संक्रमण फेला परेपछि थप कठोर कदम चालेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार