डरको दशैँ

  शिखर गजरकोटे
350 Shares

सोलुखुम्बु – दशैँ भन्ने वित्तिकै मनमा बेग्लै प्रकारको उल्लाह भरिएर आउँछ । मिठो परिकार, परिवारका सदस्य र आफन्तको जमघट, दुखःसुखको गफ, पिङ, नयाँ लुगा, आर्शिवाद, दक्षिणा लगायतका कुरा स्वस्फुर्त आइहाल्ने विषय भो ।

तर पोहोर परारको दशैँ जस्तो छैन, यो बर्ष । कोरोना संक्रमणको जोखिम बढेकाले दशैँमा खुलेर रमाउन पाइएको छैन् । ठूलालाई त पिर छदैछ, साना नानीबाबुहरुको लागि पनि यो बर्षको दशैँ खास रमाइलो छैन् । २४ सै घण्टा अभिभावकको नियन्त्रणमा रहनुपर्दा बालबालिकालाई पनि दशैँ आएको झैँ लागेको छैन् ।

संक्रमणकै डरले गर्दा सरकारले जहाँ छौँ, त्यही दशैँ मनाउन अपिल गरेको अवस्थामा गाउँशहरमा सुरक्षा सावधानी सहित दशैँ मनाइदैछ । विजयादशमी वा टिकाको दिन भिडभाड हुने भएकाले धेरैको परिवारमा भिडभाड कम गरेर सुरक्षित तवरले टिकाटालो कसरी गर्ने भन्ने विषयमा छलफल चलेको छ ।

सोलु सल्यानका एक राई दाजुभाइको परिवारमा यो पटक दशैँको टिका नलगाउने सल्लाह भएको छ । ‘टिकाटालो गरेपछि गाउँभरिका मानिसहरु आर्शिवाद र टिकाको लागि आउँछन्, न लगाइदिउँ, आलोचना हुन्छ । लगाइदिउँ, कोरोना संक्रमणको जोखिम बढ्छ ।’ परिवारका एक सदस्यले भने, ‘बरु टिका नै नलगायो, हाइसुख !’ तर पारिवारिक जमघट, खानपिन गरेर दशैँको माहोललाई निरस नबनाउने उनको भनाई छ ।

टिकाटालो गर्ने सोचमा पुगेका परिवारमा पनि दशैँ तनावमुक्त छैन् । किनकी, कोरोना भाइरस को संग छ, कस्लाई सर्छ ? पहिचानको विधि कसैसंग छैन् । सल्यान संबाददाता अर्जुन राई भन्छन्, ‘डर मानि मानि दशैँ मनाउनु परेको छ । अघिल्ला बर्षहरुमा झैँ स्वतन्त्रता छैन् । त्यसकारण पनि खास रमाइलो छैन् । तर हिन्दु नेपालीको संस्कृति हो । मनाउन त प¥यो ।’

नेपालकै खास पर्यटकीय क्षेत्र खुम्बुमा पनि दशैँको माहोल निरस छ । अघिल्ला बर्षमा पर्यटक खचाखच हुन्थे । शेर्पा जातीको बसोबास भनिने खुम्बुमा व्यवसाय र रोजगारीका लागि पुग्ने मानिसहरुले दशैँ पर्यटकसंगै मनाउँथे । यो पटक त्यो अवस्था रहेन । कोरोनाकै कारण पर्यटक आवागमन ठप्प भएपछि खुम्बु छाडेका र खुम्बुमै रहेका (दशैँ मनाउने)को दशैँ पनि निरस देखिन्छ । लुक्ला संबाददाता तोया श्रेष्ठ भन्छन्, ‘यो बर्ष दशैँ आएझैँ भएकै छैन् । सुनसान खुम्बुको दशैँ रसिलो छैन् ।’

जनस्वास्थ्य विज्ञहरुले पनि सकेसम्म दशैँमा भिडभाड गरेर टिका नलगाउन आग्रह गरेका छन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे भन्छन्, ‘सकेसम्म टिकै नलगाउने तर लगाउने भए आवश्यक सावधानी अपनाएर टिकाटालोमा सहभागी बन्नुपर्छ भन्ने मेरो सुझाव छ ।’

हिमाल समाचारसंग कुरा गर्दै डा. पाण्डेले दुरी कायम गरेर मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गरेर टिकाटालोमा सहभागी बन्न आग्रह गरे । कोरोनाको संक्रमणबाट बच्न बढिमा एक मिनेटमा (एक जना) टिकाटालो सक्न, यो पटक टिका, जमरा, दक्षिणा हातमा दिन, टिका ग्रहण गरेको घरमा खानपिन नर्गन, पैसाबाट पनि कोरोना संक्रमणको डर भएकाले दक्षिणा दिदा खामको प्रयोग गर्न डा. पाण्डेको सुझाव छ ।

दशैँको रमाइलो मौसममा कतिपय परिवारका सदस्य कोरोना संक्रमित छन्, जस्को हस्पिटलमा उपचार भइरहेको छ । कति आइसोलेसनमा छन् भने कतिपय सेल्फ आइसोलेसनमा बसेर दशैँलाई सम्झनामै सिमित गरिरहेका छन् । बाहिर रहेकाहरुले पनि खुलेर दशैँ मनाउने मौसम छैन् । त्यसैले, आवश्यक सुरक्षा सावधानी आत्मसाथ गरेर मनाऔँ, डरको दशैँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार