रावाबेशीमा ४७ लाख बराबरको पशु तथा कृषि सामग्री वितरण

  हिमाल समाचार
1.4k Shares

 

खोटाङ – खोटाङको रावाबेशी गाउँपालिकाका कृषक समुह तथा व्यक्तिगत फार्मलाई बोयर जातको बोका र कृषि सामाग्री वितरण गरिएको छ ।

गाउँपालिकाका र स्विस सरकार प्रयास परियोजनाको सहकार्यमा पालिकामा गठित कृषक समुह र व्यक्तिगत फार्मलाई बोयर जातको बोकाको साथमा कृषि सामग्री वितरण गरिएको हो ।

वडा नं १, ४, ५ र ६ नम्बर वडाका फार्म र समुहलाई ४ लाख २० हजार बराबरको एक-एक वटा बोयर जातको बोका वितरण गरिएको छ, भने वडा नं ६, ४ र १ का कृषक समुहलाई घाँस काट्ने च्यास कटर वितरण गरिएको गाँउपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिए।

उनका अनुसार व्यक्तिगत फर्मलाई तौलिने मेसिन ६ वटा, सबै वडालाई एक÷एक वटा मल्टिक्रब थ्रेसर मेसिन, मौरी पालनका लागि कृषक समुहलाई ६० वटा आधुनिक घार र ५५ कृषक समुहलाई एक हजार सुपर ग्रिनव्याक गरी जम्मा ४७ लाख बराबरको पशु तथा कृषि सामाग्री वितरण गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष निरौला, प्रमुख प्रशासकिय अधिकृत रेख बहादुर थापा, ६ नम्बर वडाका अध्यक्ष यज्ञनारायण श्रेष्ठ, प्रयास परियोजनाका स्थानीय प्रतिनिधि भुमिप्रसाद काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच, रावाबेशी गाउँपालिकामा जारी गँहुको विउवितरण कार्यक्रम आजबाट सम्पन्न भएको छ । आज (बिहिबार) वडा नं २ मा ४ सय केजी, ५ नम्बरमा ७५० केजी र ३ नम्बरमा ४० केजी विउवितरण गरिएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हालसम्म ३ हजार ७ सय २० केजी गँहुको विउवितरण गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार