स्याङबोचे विमानस्थल मर्मत पश्चात सञ्चालनमा ल्याउनुपर्ने पक्षमा खुम्जुङमा प्रदर्शन

  हिमाल समाचार
6.8k Shares

सोलुखुम्बु – स्याङबोचे विमानस्थल व्यवस्थापन कार्य अघि नबढाउन स्थानीय सरकारले माग गरेको भन्दै खुम्जुङमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

गत कार्तिक ३० गते लुक्लामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री समक्ष खुम्बुपासाङल्हामु गाउँपालिकाका कार्यवाहाक अध्यक्ष टासील्हामु शेर्पाले स्याङबोचे विमानस्थल मर्मत नगर्न अनुरोध गरेको भन्दै खुम्जुङमा विरोध प्रदर्शन गरिएको हो ।

खुम्जुङ स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको एक कार्यक्रम स्थलमा स्थानीयको समुहले स्याङबोचे विमानस्थल मर्मत तथा व्यवस्थापन गरि सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै प्रदर्शन गरेको स्थानीय आङ कामी शेर्पाले जानकारी दिए ।

यता, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद भट्टराईले भने गाउँपालिकाले स्याङबोचे विमानस्थल मर्मत तथा व्यवस्थापनमा कुनै पनि अवरोध नगरेको बताए ।

नेपाल नागरिक उडड्यन प्राधिकरणबाट विमानस्थल मर्मतका लागि बजेट व्यवस्थापन गरिने मौखिक जानकारी पाएको तर विमानस्थल मर्मतका सवालमा स्थानिय सरकारले अवरोध नगरेको बताए ।

यसअघि पनि स्याङबोचे विमानस्थल संचालनमा आउदा करिब ८० प्रतिशत नागरिकको दैनिक रोजगारी गुम्ने र जिवनयापनमा असहजता हुने भन्दै ३१० नागरिक र ६७ व्यवसायीले गाउँपालिकामा निवेदन दिएका थिए ।

सोहि निवेदन उपर कार्तिक ४ गते गाउँपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग स्याङबोचे विमानस्थल स्तरोन्नती र सञ्चालनका विषयमा सूचना माग गरेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार