वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न ज्ञापन पत्र

खोटाङ – वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न आप्रवासी कामदार हकहित संरक्षण केन्द्र दिक्तेलले जिल्ला प्रशासन कार्यालय दिक्तेललाई छ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर स्तरीय समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठको हस्ताक्षरमा बुझाइएको ज्ञापनपत्रमा वैदेशिक रोजगारीका नाममा म्यानपावरबाट भइरहेको ठगी नियन्त्रण गर्न विभागले द्रुतगतिमा अनुगमन गरी कडा कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, बिमा कम्पनीले मृतक परिवारलाई प्रदान गरिने बिमित रकम भुक्तानी दिने क्रममा इच्छा विपरीत सबै प्रिमियम एकै पटकमा असुल गरी ५ लाखसम्मको बिमा गराइरहेको भन्दै बिमाको नाममा भइरहेका ठगी बन्द गर्नु पर्ने माग गरेका छन् ।

यस्तै कोरोना तथा अन्य कारणले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने, विदेशबाट मृतकको शव तदारुकताका साथ ल्याउनु पर्ने, वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकका लागि रोजगारी सृजना गर्न सरकारले व्यवस्था गरेको सहुलियत ऋण सहजपुरमा पाउनुपर्ने लगायतका माग गरिएको छ ।

ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीमार्फत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र वैदेशिक रोजगार विभागलाई बुझाइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार