म्यानमार सेनाकाे नियन्त्रणमा बहुराष्ट्रिय कम्पनीमाथि प्रतिबन्ध

  हिमाल समाचार
35 Shares

काठमाडाैँ- संयुक्तराज्य अमेरिकाले म्यानमार सेनाको नियन्त्रणमा रहेका दुई बहुराष्ट्रिय कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सैन्य ‘कू’को विरोधमा भएको प्रदर्शनमा हिंसात्मक हस्तक्षेप गरेपछि अमेरिकाले म्यानमारका उच्च सैनिक अधिकारीको स्वामित्वमा रहेका कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

म्यानमार इकोनमिक कर्पोरेसन (एमईसी) र म्यानमार इकोनमिक होल्डिङ्स लिमिटेड (एमईएचएल)लाई कालोसूचीमा राख्दै यी कम्पनीका अमेरिकामा भएको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने निर्णय भएको स्रोतलाई उद्धृत गर्दैै समाचार संस्था रोयटर्सले जनाएको छ ।

निर्वाचनमा धाँधली गरेको भन्दै सेनाले गएको फेब्रुअरी १ मा प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायत अन्य निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिई शासनसत्ता आफ्नो हातमा लिएको थियो । गत नोभेम्बरमा भएको उक्त निर्वाचनमा सूकीको पार्टी विजयी भएको थियो ।

सैन्य ‘कू’विरुद्ध भएको प्रदर्शन दमन गर्न सेना हिंसात्मक रुपमा प्रस्तुत हुँदा कम्तीमा २७५ जनाको मृत्यु भइसकेको छ ।

यसअघि नै अमेरिका, बेलायत, क्यानडा र युरोपेली संघले म्यानमार सेनाका उच्च अधिकारीहरुमाथि केही प्रतिबन्धहरु लगाइसकेका छन् । लामो समयदेखि म्यानमारको अर्थव्यवस्था सेनाको नियन्त्रणमा छ । सेनाले होल्डिङ फर्म र सहायक कम्पनीमार्फत यहाँको मदिरा, चुरोट, टेलिकम, टायर, खनिज र रियल स्टेटमा ठूलो लगानी गरेको जनाइएको छ ।

प्रदर्शनकारीले सेनालाई आर्थिक रुपमा कमजोर बनाउन यहाँका ग्यास र तेल क्षेत्रमा समेत प्रतिबन्ध लगाउन आह्वान गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार