थुलुङ दुधकोशीका कृषकलाई ४ सय थान आधुनिक मौरी घार वितरण (भिडियो)

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ देउसाका २ सय कृषकलाई मौरी पालनका लागि आधुनिक घार वितरण गरिएको छ ।

आईतबार एक कार्यक्रमको आयोजना गर्दै दुई सय कृषकहरुलाई ४ सय थान आधुनिक घार वितरण गरिएको हो । ५ दिने तालिमसंगै मौरीको आधुनिक घार पाएपछि कृषकहरु हर्षित बनेका छन् ।

व्यवसायिक मौरीपालनका लागि स्थानीय सरकारले वडा नं ७ देउसालाई तोरी पकेट क्षेत्रको कार्यक्रम अघि बढाएको छ ।

कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले निर्वाहमूखि कृषिलाई सुधार गर्दै व्यवसायिकता तर्फ लाग्न कृषकलाई प्रोत्साहन स्वरुप आधुनिक मौरीको घार वितरण गरिएको बताए । नागरिकको आर्थिक स्तर उकास्नका लागि कृषिको व्यवसायिकता आजको आवश्यकता भएको औल्याउदै अध्यक्ष राईले प्राथमिकताको साथ काम गर्दै आएको बताए ।

उनले भने, ‘देउसा कृषि वन स्रोत केन्द्रलाई अभिभावक मानेर हरेक वडामा कृषि वन स्रोत केन्द्र स्थापनालाई कार्यान्वयनमा लगेका छौ । गाउँपालिकाका नागरिकलाई कृषि र वनको माध्यमबाट धनी बनाउने सपना बोकेर जनप्रतिनिधिहरु लागि परेका छौ ।’

गाउँपालिका अध्यक्ष राईले कृषिको अलवा स्थानीय सरकारले पुर्वाधार विकास, स्वास्थ्य, शिक्षा र खेलकुदमा महसुस गर्न सकिने गरि काम गरिरहेको दाबी गरे ।

कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष रामसंघर्ष किराती र वडा नम्बर ८ का कार्यवाहक वडाअध्यक्ष तिलक राईलगायतको उपस्थिती रहेको थियो ।

भिडियो स्रोत – रेड सन यूटुव

कार्यक्रमका अन्य फोटोहरु

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार