पहिलो आधार शिविरसम्म बाटो बन्यो

  हिमाल समाचार
126 Shares

सोलुखुम्बु – वसन्तऋतुको आरोहण तयारीका लागि सगरमाथाको पहिलो क्याम्पसम्म बाटो निर्माण सम्पन्न भएको छ ।

आइसफल डाक्टरको टोलीले छ हजार मिटरको पहिलो क्यम्पसम्म बाटो निर्माण सम्पन्न गरी उकालो लागेको आधार शिविरबाट माउन्टेन गाइड दानुरी शेर्पाले जानकारी दिए । बैशाख पहिलो सातासम्म बाटो निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

आइसफल डाक्टरको टोलीले दोस्रो क्याम्पसम्म बाटो निर्माण गर्ने छन् भने त्यस पछि आरोहण सञ्चालक संघले चुचुरोसम्मको बाटो निर्माण गर्ने छ । यस वर्ष आरोहण सञ्चालक संघले सेभेन समिट ट्रेकलाई बाटो निर्माणको जिम्मा दिइएको जनाएको छ ।

दोस्रो क्याम्पसम्मको बाटो निर्माणसम्पन्न पछि सेभेन समिट ट्रेकले तत्कालै चुचुरोसम्मको बाटो निर्माणमा जुट्ने तयारी थालेको प्रमुख मिङमा शेर्पाले बताए । यस वर्ष चीनले सगरमाथा आरोहण बन्द गरे पछि नेपाल तर्फको बाटो हुदै आरोहण गर्ने आरोहीको संख्या तीन सय भन्दा बढी हुने भएकाले आरोहणमा ट्राफिक जाम हुनसक्ने भन्दै बाटो निर्माणलाई चाँडै सक्नु पर्ने र तालिका बनाएर आरोहण गराउन पर्यटन विभाग लागि परेको जनाएको छ ।

बैशाख दोस्रो सात देखि चुचुरो आरोहण शुरु गर्ने लक्ष एजेन्सीहरुले राखेका छन् । डोरी टाँग्ने र भर्याङ लगाउने कार्य गरी आरोहणका लागि चुचुरोसम्म बाटो निर्माण गर्ने गर्छ । नेपालका हिमाल आरोहण गर्दा अनिवार्य डोरी टाँग्ने चलन छ र डोरीकै सहायताले आरोहीहरू चुचुरोसम्म पुग्ने गर्छन् ।

यता अन्नपूर्ण हिमालमा समेत आरोहण तयारीका लागि बाटो बनाउने काम शुरु गरेको आधारशिविर पुगेका आरोही माया शेर्पा जानकारी दिनुभयो । अन्य वर्ष भन्दा धेरै आरोही भएकाले आरोहणका क्रममा बाटोमा भीड हुनसक्ने भन्दै बाटो निर्माणको काम चाँडै सक्ने गरी तयारी थालेको शेर्पाले बताए ।

यता आरोहणदल लिएर पुगेका एजेन्सीहरुले भने आरोहण सफल होस् भन्दै पूजा शुरु गरेका छन् । आरोहण बाटो निर्माण सफलताको कामना सहित आधारशिविरका कामदार, आरोही र गाइडको सुरक्षित आरोहणको कामना गर्दै पुजा आइतबार सम्पन्न गरेको एसेन्ट हिमालयका गाइड छिरिङ पेम्वा शेर्पाले बताए ।

उनको आरोहणदलका क्यानाडा, अमेरिका, नर्वे र फ्रान्सका आरोहीहरु आधारशिविर आउने क्रममा रहेकाले यस अघिनै पुजा सम्पन्न गरेको उहाँको भनाई छ । यस अघि आइसफल डाक्टरहरुले भने पुजासम्पन्न गरेर मात्र सगरमाथाको बाटो निर्माण तर्फ अघि बढेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार