गौतम सागरको सघर्ष : पर्यटक भरिया देखि अमेरिकासम्म

पढाइ खर्च जुटाउन पर्यटक भारी बोक्थे

  शिखर गजरकोटे  721 पटक हेरिएको

गौतम सागर राई

आज भन्दा ३१ बर्ष अघि सोलुखुम्बुमा बाबा चक्र बहादुर र आमा डिल्ली मायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मेका हुन्, गौतम सागर राई । सामान्य परिवारमा जन्मेका उनले माध्यमिक तहको शिक्षादिक्षा गाउँबाटै लिए ।

गौतम पाँच बर्षको हुँदा बाबाको माया गुमाए । धन कमाउन छिमेकी मूलुक भारत गएका बाबा फर्किएनन् । त्यसपछि दुखका दिन जरो गाड्न थाल्यो । आमाको एक्लो प्रयासले उनी र वहिनीलाई हुर्काइन् । एकल महिलालाई समाजले हेर्ने दृष्ट्रिकोण र गर्ने व्यवहार देखेपछि गौतम भित्र विद्रोही स्वभावको विकास भयो ।

घरको दुखले गर्दा परिवारको जेठो छोरो रहेका गौतम कहिले साहूको, कहिले पर्यटकको भारी बोक्न पुग्थे । उनी भन्छन्, ‘गरिबीलाई नजिकबाट भोगेको म पढाइ खर्च जोहो गर्नकै लागि पर्यटकको भारी बोक्न खुम्बुसम्म पुग्थे ।’

कक्षा ५ सम्म बरबोट प्राविमा पढेका गौतमले कक्षा ६ देखि हुलु माविमा पढ्न थाले । त्यस विद्यालयमा कक्षा ८ सम्म पढे । त्यसपछि दैनिक एक घण्टा हिँडेर श्री विरेन्द्र ज्योती मावि सोताङमा पढ्न पुगे । त्यहाँबाट कक्षा ९ र १० पास गरे ।

स्कुल पढ्दै पत्रकारिता
माध्यमिक तहमै पढ्दै गर्दा गौतमले पत्रकारिता शुरु गरे । जिल्लामै संचालित सामुदायीक रेडियो सोलु एफ.एम.बाट कुलुङ नाछिरिङ्ग भाषाको (मिन्ताम हुक्छो ) कार्यक्रम रेडियोबाट पत्रकारिताको थालनी गरे । गाउँबाटै सल्लेरीसम्म पैदल धाउथे । सानै देखि दुखसंग परिचित उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अन्तरगत गायन र वादविवाद प्रतियोगीतामा प्रायःप्रथम हुन्थे ।

स्कुल पढ्दा साथीहरुसंग

‘त्यो दिन अहिले पनि सम्झन्छु । विद्यालयमा सदन–सदन बिचमा प्रतिस्प्रर्धा हुन्थ्यो । गायन र वादविवादमा प्रायःम प्रथम हुन्थे । स्वर्गीय भवदत्त अधिकारीले सामाजिक विषय पढाउनुहुन्थ्यो । उहाँले मलाई गायनमा निकै प्रोत्साहन दिनुहुन्थ्यो ।’ विगतलाई स्मरण गर्दै गौतमले भने, ‘विद्यालयमा हार्मोनियम थियो । हाफटाइममा साथीहरु खेल्न र खाजा खान थाल्थे । म हार्मोनियम सिक्थे ।’

विद्यालय तहमै गौतमले शम्भु राईका गीतहरु गाउथेँ । शिक्षक र साथीभाईको प्रोत्साहनले गर्दा उनले गायक बन्ने सपना देख्न थालिसकेका थिए । ‘सामाजिक शिक्षकले काठमाण्डौ गयौँ भने रेडियो नेपाल जाऊ है भन्नुहुन्थ्यो ।’ गौतमले सम्झे । विद्यालय तहकै पढाइको क्रममा लेखन शुरुवात गरे । गीत, गजल लेख्थे । त्यसैबेला उनी सुनौलो विहानी साहित्यिक हवाई पत्रिकाको प्रमुख व्यवस्थापक पनि थिए ।

गाउँमा भएको गायन प्रतियोगीताको रिर्पोटिङ गर्दै

गायक बन्ने सपना बोकेर राजधानी
जब, २०६३ सालमा एसएलसी पास गरेपछि गौतम राजधानी छिर्ने निधोमा पुगे । गायक बन्ने सपना बोकेर सोताङबाट ३ दिन हिँडेर दोलखाको जिरी पुगे । जिरीबाट पहिले पटक बस चढेर उनी काठमाण्डौँ ओर्ले । त्यो उनको सपनाको शहर थियो ।

उनी सम्झन्छन्, ‘शुरुमा म गायक बन्नकै लागि काठमाण्डौँ छिरेको हूँ । तर समय र परिस्थितीले अन्तै मोड्यो ।’ त्यो बेला गाउँमै निजी स्रोतबाट शिक्षक बन्न पाइन्थ्यो । त्यता तिर उस्को ध्यानै गएन् । ध्यान थियो त, गायनमा ।

पढाइ खर्च जुटाउन पर्यटकको भारी पनि बोक्थे ।

त्यो बेला (२०६५) उनले गीतको लागि २५ हजार डुबाएका छन् । गायक बन्ने रहरमा आमालाई फकाएर दुहुनो भैँसी बेचेर आएको पैसा गीतमा लगानी गरेका थिए । ‘गायक बन्ने सपना पुरा गर्न भैँसी नै बेचे । लगानी पुरै डुबेपछि आमाको डरैले ३ बर्ष घरै गइन् ।’ उनले भने । उनको पहिलो गीत ‘दोधारे माया’हो ।

काठमाण्डौमा रहदा उनले पढ्थे पनि । उनले आर.आर. क्याम्पसमा मेजर नेपाली साहित्य र संगीत विषयबाट स्नातकसम्मको पढाइ पुरा गरेका छन् । गीतमा लगानी डुबेपछि घर नगएका गौतम पढाइ खर्च जोहो गर्न लाग्थे । उनी भन्छिन्, ‘दशैँ तिहारमा साथीहरु घर जान्थे आफू खर्च जुटाउनका लागि पश्चिम क्षेत्र ट्रेकिङ जान्थे । पर्यटकको भारी बोकेर मनाङ, मुस्ताङ लगायतका पर्यटकीय गन्तव्य चाहर्थे । साहै दुख गरियो ।’ ३–४ ट्रेक गर्दा बल्लतल्ल २५–३० हजार हात पार्थे, गौतमले । सोही पैसाले काठमाण्डौमा बसाई र पढाई खर्च पु¥याउथे ।

पर्यटकको भरिया बनेर मनाङ, मुस्ताङ थुप्रै पटक पुगे ।

काठमाण्डौमा रहदा उनी कहिल्यै पनि शहरको रमझममा लागेनन् । मात्र उस्लाई सफलता चाहिएको थियो । यसको अर्थ सपना पुरा गर्नु थियो ।

आमा भन्थिन, ‘बाबु, शहर नजा’
‘आमालाई सायद, एक्लिन्छु भन्ने चिन्ता थियो । ठूलो छोरो नै शहर लागेपछि आफूसंग नहुने डरले पनि आमाले शहर नजाओस् भन्ने चाहनुहुन्थ्यो ।’ गौतम भन्छन्, ‘काठमाण्डौँ जाने भनेपछि आमाको विलौनालाई प्रतिविम्बित गर्दै मैले ‘शहर नजा’ शिर्षकमा कविता नै लेखे । धेरै ठाउँमा वाचन समेत गरेको छु ।’

आमाको साथमा दुईटी वहिनी मात्र । एकल महिलाको रुपमा आमाले सोताङको गाउँमा सघर्ष गरिरहनुभयो । ऊ शहरमा भविष्य खोज्दै भौतारिरहे ।

गौतम जन्मेको सोताङको घर

राजधानी बसाईको कोशिस
सुखको खोजीमा सघर्ष नछाडेका गौतमले आफ्नो करियर निर्माणमा संवेदनशील बने । काठमाण्डौमा रहदा ‘स्वर्णिम सौगात’ त्रैमासिक पत्रिकाको संस्थापक सम्पादकको रुपमा काम गरे । साहित्य लेखन र गायनमा रुची राख्ने गौतमको चिनजान रेडियो नेपालमा प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘मधुवन’का संचालक नवराज लम्सालसंग भयो । २०६६ सालमा मधुवन साहित्यीक प्रतिष्ठानको जन्म भयो । उनी त्यस प्रतिष्ठानका संस्थापक उपाध्यक्ष तथा कन्द्रीय प्रवक्ता बने ।

गौतम सम्झन्छन्, ‘प्रतिष्ठानको प्रवक्ता भएको नाताले हरेक हप्ताको शुक्रबार ‘मधुवन’ कार्यक्रममा १५ मिनेट बोल्नुपर्ने हुन्थ्यो । हरेक शनिबार आर.आर क्याम्पसमा सुन्ने र सुनाउने कार्यक्रम चल्थ्यो । त्यस कार्यक्रमको रिर्पोटिङ गर्नुपर्ने । त्यो मेरो लागि अवसर थियो । बोल्ने कलाको विकास भयो ।’

मधुवन कार्यक्रम संचालक तथा साहित्यकार डा. नवराज लम्सालसंग फोटो खिचाउदै

क्याम्पस जीवनमा गौतमले राजनिति पनि शुरु गरे । २०६५ सालमा अखिल नेपाल विद्यार्थी संगठन (अनेविसं)आर.आर इकाइ कमिटी सदस्य बनेर काम गरे । उनी किराँत राई विद्यार्थी संघ, आर.आर इकाई कमिटीको सचिव (२०६५) र अखिल नेपाल विद्यार्थी संगठन काठमाण्डौँ – सोलुखुम्बु सम्पर्क कमिटीका अध्यक्ष (२०६६ )बने ।

विद्यार्थी राजनितिमा होमिएका उनी पत्रकारितामा पनि उत्तिकै सक्रिय थिए । २०६८ सालमा ‘दुधकोशी’मासिक पत्रिकाको प्रवन्ध निर्देशक बनेर काम गरेका उनले २०६९ सालबाट रेडियो र्मिमिरेबाट साहित्यीक कार्यक्रम ‘दोभान’संचालन थाले ।

काठमाण्डौमा पत्रकारिता गर्दै राई

२०६५ सालमा पूर्वेली गीत ‘दोधारे माया’ सार्वजनिक गरेका गौतमले २०६७ सालमा ‘पल्टने यो ज्यान’ र २०६० सालमा ‘दिलको ड्राईभर’बजारमा ल्याए । ती बाहेक तिन दर्जन गीतमा स्वर र संगीत दिएका छन् ।

उनले लेखेका थुप्रै कविताहरु विभिन्न पत्रिका तथा अनलाइन पोर्टलमा प्रकाशित समेत भएका छन् ।

विद्यार्थी राजनितिमा पनि सक्रिय थिए राई

स्थापित गायक बन्ने सपना अधुरै
गायक बन्ने सपना बोकेर काठमाण्डौँ छिरेका गौतम पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण गायनलाई निरन्तरता दिन नसकेको स्विकार्छन् ।

‘घरबाट ल्याएको लगानी डुबिहाल्यो । पहिलो गाँसमै ढुंगा लागेपछि प्रोफेस्नल गायक बन्ने सपना पुरा हुन सकेन् ।’ उनले भने ।

अहिले फाट्टफुट्ट आफ्ना सृजना बजारमा ल्याउन छाडेका छैनन् । तर पत्रकारितालाई विधिवत रुपमा शुरु गरेका छन् ।

डिभि परेर अमेरिका
जतिबेला गौतम ‘दुधकोशी’मासिक पत्रिकामा काम गर्थे । सोही पत्रिकाको लागि सुन्धाराको एक कम्पनीमा कार्यरत ओखलढुंगाका पाले दाईसंग कुरा गरेर फर्कदै गर्दा सुन्धारा छेउमा अमेरिका जाने सुर्वण अवसर भन्दै प्रर्चा वितरण गरिरहेको देखे । उनको पाइला पनि त्यही रोकियो ।

‘अमेरिका जाने अवसर भनेपछि मन नलोभिने कुरै भएन । मलाई लाग्छ, एक सयमा डिभि भरेको थे । परिहाल्ला की भनेर भरियो तर पर्ला भन्ने विश्वास निकै कम थियो ।’ उनले भने । तर उस्लाई डिभि प¥यो ।

जब, डिभि परेको औपचारिक खबर आयो । त्यो बेला गौतम टेलिभिजन कार्यक्रमको खाका कोर्दै थिए । ती दिनलाई स्मरण गर्दै भने, ‘फोन आउदा झ्याप्प डिभि प¥यो भन्दा विश्वास नै लागेको थिएन । म पनि अमेरिका जान पाउने ! हैन होला लाग्थ्यो ।’

उनी सन् २०१५ देखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसोबास गर्दै आएका छन् । भावुक हुँदै गौतमले भने जिन्दगी संघर्ष रहेछ । गाउँबाट शहर पस्दा जस्तो संघर्ष थियो, अमेरिकामा पनि सुरुका दिनहरुमा संघर्ष गरे । त्यो समय एयरर्पोटमा पिकअप गर्ने कोही थिएन ।

‘९ महिना रेष्टुरेन्ण्टमा भाडा माझे ।’ उनले लामो श्वास तान्दै भने, ‘यि सबै जिन्दगीका शुन्दर रंगहरु हुन । अहिले अमेरिकाबाटै हाम्रो आवाज अन्लाईन न्युज डट कम र हाम्रो आवाज अन्लाईन टिभीको प्रबन्ध निर्देशक भएर बिभिन्न देशमा रहेर साथीहरु संग हातेमालो गर्दै प्रबासको दुख सुख लेख्दै–देखाउदै पत्रकारितामा एउटा इट्टा थप्ने काम गर्दै आएको छु ।’ अमेरिकाको व्यस्त जीवनबाट समय निकालेर बचेको समय पत्रकारिता, साहित्य र संगीतलाई प्रयोग गर्दै आएका छन् ।

‘म सामान्य मान्छे हूँ । हिजो जस्तै साधारण जिन्दगी विताउन मन छ ।’ गौतम भन्छन्, ‘भोली राजनितिमा आए भने पत्रकारिता छाड्छु । पत्रकारितामा रहदासम्म राजनिति गर्दिन् । पत्रकारिता र राजनिति संगै गर्नु हुदैन् भन्ने मेरो सिद्धान्त हो ।’

(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार