लोक गीतका तेजिलो तेजश

  शिखर गजरकोटे
168 Shares

काठमाण्डौँ – लोक गीतका तेजश रेग्मी बाग्लुङमा जन्मेका हुन् । ‘पिँडालु’, ‘भगेँरी’, ‘पानको पत्ताले’, ‘वाई वाई माया’लगायतका दर्जनौ सृजनालाई दर्शक स्रोताले मन पराएका छन् । यीनै गीतबाट करोड क्लबको स्वाद चाखेका उनले संगीतको सफलता पनि अनुभव गरेका छन् । तिनै सर्जक तथा गायक रेग्मीले पछिल्लो गीत ‘निगालीको डोको’बजारमा ल्याएका छन् ।

अडियो देखि भिडियोको जमानामा पनि उत्तिकै सृजनामा सक्रिय तेजशले सन् २०२१ लगेपछि तीन वटा दोहोरी गीत सार्वजनिक गरे । ‘मलाई भन अरुलाई भन्दिन’ आफ्नै यूटुव च्यानलबाट सार्वजनिक गरे । जुन गीतलाई ३ लाख बढि दर्शकले हेरेका छन् । पछिल्लो समय ‘रुमाल धोईरहनी’ र ‘निगालीको डोको’ यी दुई गीत डिजिटल बजारमा छन् । ती गीतहरुले विस्तारै भ्यूज बटुल्दैछ ।

तेजशले गीत पनि गाउछन् तर गायक भन्दा सर्जक भन्न रुचाउछन् । उनी भन्छन्, ‘म आफूलाई गायनमा भन्दा सृजनामा बलियो पाउछु । स्व–मुल्यांकनमा अनुभूति भएको कुरालाई स्विकार गरेर अघि बढ्नुपर्छ ।’

उनका गीतहरुमा मौलिक देखि चलनचल्तीका अग्रेजी वा आयातित शब्दहरु पनि प्रयोग हुन्छ । प्रयोगमा आइरहनी अग्रेजी शब्द लोक गीतमा प्रयोग हुनुलाई सामान्य मान्छन् । भन्छन्, ‘आमले बुझ्न गाह्रो हुने शब्द प्रयोग गर्दा त्यसलाई विकृती भन्नु हुदैन् ।’

उनले एक दर्जन गीतहरु रेकर्ड गरेर राखेका छन् । समय अनुसार ती गीतलाई सार्वजनिक गर्दै जाने बताउछन् । तेजशका केही गीतले डिजिटल बजारमा सफलता कमाएपछि उनीसंग सहकार्य गर्ने कलाकर्मीको लाम पनि राम्रै छ । ‘आफ्नो सृजना करोड क्लब प्रवेश गरेपछि बजारमा माग बढ्दो रहेछ । मैले त्यस्तै अनुभूति गरेको छु ।’ उनले भने ।

उनको सृजना ‘पिडाँलु’लाई यूटुवमा एक करोड ५ लाख बढि दर्शकले हेरेका छन् भने ‘भँगेरी’ले एक करोड ३० लाख बढि भ्यूज कमाएको छ । ‘छोटो कपाल’ र ‘नाकै हेर्दा था हुनी’ (रोइला)ले ३४ लाख, ‘पुरानो डायरी’ले २७ लाख, ‘तामे गाग्री’ले १७ लाख, ‘पानपाते ओठ’ले २० लाख बढि दर्शकको माया बटुलेको छ ।

‘गीत संगीतबाट बाँचिरहेको छु ।’ उनले भने, ‘जीवन कसरी बाँच्नी भन्ने हो । जीवनशैली फरक फरक हुन्छ । केही नी हुन्न भन्ने पनि हैन् । बेस्सरी हुन्छ भन्ने पनि छैन् । म सन्तुष्ट छु ।’ देखासकीको पछि नलाग्ने उनको भनाई छ । ‘नयाँ पुराना दर्जनौ कलाकारले गीत संगीतबाटै घर बनाउनुभएको छ । गाडी चढेर गुढिरहनुभएको छ । संगीत क्षेत्रमा पनि कमाइको ढोका खुल्दैछ । तातै खाँउ जली मरु भन्दा पनि धैर्यता साँधेर टिक्न सके विक्न पनि सकिन्छ ।’ तेजशले भने ।

कोरोनाले संगीत क्षेत्रमा पारेको प्रभावको सन्दर्भमा उनी भन्छन्, ‘अन्य क्षेत्र जस्तो सृजनाको क्षेत्रमा प्रभाव परेको देख्दिन । कोरोना कहरकै बिचमा प्रतिभावान कलाकारहरुले सफलता चुमेका छन् । सृजना रोकिएको छैन् । रेकर्डिङ भईरहेको छ ।’ तर मेला महोत्सबमा व्यस्त हुने कलाकारको ढाड सेकिएको उनी स्विकार्छन् ।

पहिलो चरणको कोरोना कहरको समय गाउँमा विताएका तेजश यो पटक भने परिवारलाई गाउँ पठाएर काठमाण्डौँमा नै छन् । ‘अघिल्लो कहरमा गाउँमा बसे । परिवारसंग बस्दा नरमाईलो हुने त कुरै भएन तर गीत संगीतको काम हुन पाएन । ज्यान उता, ध्यान यता भएकाले यो पटक परिवारलाई गाउँ पठाए, आफू राजधानी मै बसिरहेको छु ।’ उनले भने । निषेधाज्ञामा पनि गीत संगीतकै काममा व्यस्त रहेको भर्चुअल कुराकानीमा बताए ।

संगीत क्षेत्रको विकृतीको कुरा जोड्दा तेजश खुले । उनले भने, ‘राजनितिले गीत संगीत पनि अछुतो छैन् । नजिकबाट निहाल्ने हो भने यो पार्टीको, त्यो पार्टीको, मेरो मान्छे, तेरो मान्छे भन्ने चलन गाँजिदो छ ।’ खुला राजनितिको प्रभाव गीत संगीतमा पनि भएको उनले खुलाए ।

सृजना, गायन संगै तेजश डान्समा पनि शौखिन छन् । उनी प्रायः आफ्ना गीतहरुमा स्कृन शेयर गरिरहेकै हुन्छन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार