मौसमविद: ‘ताउ ते’ काे प्रभावबाट बच्न सतर्कता अपनाउनुहाेस्

  हिमाल समाचार
140 Shares

काठमाडाैँ- अरब सागरमा विकसित चक्रवातको प्रभाव नेपालको पश्चिमी, मध्य र पूर्वी भागमा दखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभाव नेपालमा शुक्रबारसम्मै पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मिनकुमार अर्यालका अनुसार आज सामान्य र भोलिबाट बढी प्रभाव देखिने छ । यसको प्रभावले मेघ गर्जनसहित पानी पर्ने, हुरी चल्ने हुने उनले बताए ।

बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ । यसैगरी प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रिमनसुन अवधिमा विकसित चक्रवातले क्षति पुर्याउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । चक्रवातका कारण छिमेकी मुलुक भारतका महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक, गुजरात लगायत क्षेत्रको जनजीवन आइतबारदेखि नै प्रभावित भएको छ । भारतका मिडियाहरुले चक्रवातका कारण १२ जनाको मृत्यु भएको जनाएका छन् ।

चक्रवात प्रभावित क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियान रोकिएको र कयौंलाई सुरक्षित स्थानमा सारिएको समाचार छ । यो चक्रवातको नाम ‘ताउ ते’ राखिएको छ ।

तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्को सुझाव

अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएको भन्दै उनले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताए । मौसम अनुकूल हुने बित्तिकै पुनः शिखरतर्फ जाने क्रम शुरु हुने उनको भनाइ छ ।

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न-नगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ । यसको प्रभाव पश्चिमबाट क्रमैसँग पूर्वतर्फ सर्दै गएको हुँदा बिहीबारदेखि यसबारे प्रभाव बढी देखिने हुँदा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार