थुलुङ दुधकोशीको निर्णय : अध्यक्ष चढ्ने गाडी सहित ३ वटा सवारी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ३ वटा सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको एक र अन्य दुई वटा सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा ३ वटा सवारी साधन तयारी अवस्थामा राख्ने र विरामीलाई निशुल्क उद्धार गर्ने निर्णयमा पुगेको अध्यक्ष असिम थुलुङले बताए । बैठकबाट लक्षण देखिएका संक्रमितलाई गाउँपालिकाले संचालन गरेको ५ शैयाको अस्थायी हस्पिटलमा राखेर उपचार गरिने छ ।

कोभिड हस्पिटलमा अक्सिजन कन्सन्टे«टरको व्यवस्था रहेको छ । लक्षण नदेखिएका संक्रमितलाई होम आईसोलेशनमा राखिने निर्णय गरिएको छ । होम आईसोलेशनमा बस्नेका लागि पालिकाले मेडिकल किट जस्तै अक्सिमिटर, सिटामल, भिटामिन, मास्क, स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने र दैनिक दुई पटक स्वास्थ्य परामर्श प्रदान गर्ने तयारी गरिएको छ ।

फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने वितरण गर्ने निर्णय गरेको छ । तत्कालको लागि एक महिना न्यूनतम पारिश्रमिकको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको पालिका अध्यक्ष राईले बताए । कोरोना संक्रमण नफैलियोस् भन्नका लागि जिल्ला बाहिरबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने र दैनिक उनीहरुको अवस्था निगरानी गरिने गाउँपालिकाले जनाएको छ ।

‘नागरिकको सुरक्षाको लागि स्थानीय सरकारले जस्तोसुकै कदम चाल्न पनि पछि पर्ने छैन् ।’अध्यक्ष राईले भने । कार्यपालिका बैठकले गाउँपालिका क्षेत्रमा सन्चालित ठुला आयोजनाहरु संग भएका अक्सिजन सिलिण्डर तथा एम्बुलेन्स गाउँपालिका मातहत ल्याउने, कालाबजारी, महङ्गी लगायतका विकृतिलाई न्युनिकरण गर्न नियमित बजार अनुगमन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार