‘त्यो पर्दैन’

कविता

  चन्द्र आचार्य
763 Shares

मान्छेहरु
बेकार दुखका कुरा गर्छन् ,
उधिन्छन्,
अभाव , असुरक्षा र बेथितिका केश्राहरु !
भ्रस्टाचार /कुशासनका
पत्र-पत्र केलाएर
जानाजान समय बर्वाद गरिरहेछन्
“समृद्ध नेपाल – सुखी नेपाली” को यो समय
तत्काल फर्मान् जारी गर्दिनु,
भो अब ‘त्यो पर्दैन’ !

महामारी छ,
सरकारलाई थाह छ,
पक्ष / विपक्षलाई सूचना छ,
तर यै बेला
सरकार बचाउँनुछ, गिराउनुछ !
पुनित कामको खातिर
सांसद किन्दाको खर्च छ,
रिसोर्ट बस्दाको बिल छ,
यस्तो बेला,
साना मान्छेहरु
मास्क/ सेनिटाइजर नखोज,
कामदारले काम नखोज, राहत नखोज!
त्यो पर्दैन !
हावा बेजोड चलिरहेछ,
बेकार अक्सिजन नखोज,
यै बेला ओखती नखोज, अस्पतालको ओछ्यान नखोज,
त्यो पर्दैन !

यहाँ पार्टी फुटाउनु छ, जुटाउनु छ,
त्यस्मा अचाक्ली खर्च छ !
संसद बचाउनु छ, भत्काउनु छ !
यो महान कार्यका बेला,
सुत्केरी अस्पताल लैजाने कुरा नगर ,
शहरमा अड्किएका तिमी,
गाउँ जाने कुरा नगर,
फाल्तु कुरा हो ‘त्यो पर्दैन’ !

हामी ‘उता’ बाट पालिएका
पोषिएका मान्छेहरु !
अनाहकमा
तिम्रो कुहिएको गोलभेडाका कुरा नगर,
मकै माँसिएका बात नगर !
तिम्रो कुखुरो उँगोस्, सुँगुर मरोस,
गाई/ भैंसी भर्सेला परोस् !
भो, कुरा नगर ‘ त्यो पर्दैन’
हामी आलोचना सहने प्रजाती होइनौं ,
आइन्दा
बिरोध नगर,
त्यो पर्दैन !

(लेखक आचार्य नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व पार्टी सचिब हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार