सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै काठमाडौंमा रेल ल्याउन चिनियाँ प्राविधिकको प्रस्ताव

  हिमाल समाचार
1.6k Shares

काठमाडौं – नेपाल-चीनबीचको बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको छ । परियोजनामा संलग्न एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताएका छन् ।

ती इन्जिनियरलाई उध्दृत गर्दै हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन रेलमार्ग बनाउन सुझाएको बारे समाचार लेखेको छ ।

वातावरण संरक्षित क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ । ८ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने जनाइएको छ ।

दुबै मुलुकको एक हजार किलोमिटर लामो सीमा हुँदै रेलमार्ग बनाउन ६ वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्यौलमा छन् । प्रस्तावित रुटमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।

चीनको स्थानीय अखबार रेलवे स्ट्रान्डड डिजाइनमा गत बुधबार प्रकाशित समाचारमा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउन सहमति जुटेको उल्लेख छ ।

सान्ची प्रान्तस्थित चिनियाँ रेलवे फस्ट सर्भे तथा डिजाइन इन्स्टिच्युट ग्रुपका वरिष्ठ इन्जिनियर लियाङ दोङले एक तिहाइभन्दा बढी सुरुङ सगरमाथा राष्ट्रिय निकुञ्जमा भूमिगत तरिकाले बनाउने सहमति जुटेको उक्त अखबारलाई बताएका छन् ।

उक्त रेलमार्गले नेपाली राजधानी काठमाडौंबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । ५१३ किलोमिटर लामो उक्त रेलमार्ग निर्माणमा ८.२७ बिलियन अमेरिकी डलर खर्च हुने इन्जिनियर लियाङले जनाएका छन् ।

विज्ञ प्राविधिकहरुले तयार पारेको उक्त ढाँचा र लागतसहितको प्रतिवेदन चीन र नेपाल सरकारलाई बुझाउने तयारी भैरहेको छ । सन् २०१६ मा नेपाल र चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत रेलमार्ग निर्माणमा सम्झौता गरेका थिए ।

सगरमाथा आधार शिविर हुँदै रेलमार्ग बनाउने प्रस्तावबारे काठमाडौंस्थित चिनियाँ दूतावासले कुनै प्रतिक्रिया जनाएको छैन । इन्जिनियर लियाङका अनुसार प्रत्येक रुटका आफ्नै खाले राम्रा र नराम्रा पक्ष छन् र प्रारम्भिक मूल्यांकनको चरणमा अन्य केही रुटबारे गरिएका प्रस्तावलाई अस्वीकार गरिएको थियो किनभने ती रुट निर्माण महंगो हुने अनुमान थियो ।

लागत महंगो हुने र रुट पनि लामो हुने भएकाले अन्य रुटको तुलनामा सगरमाथा निकुञ्जलाई छानिएको उल्लेख छ । सगरमाथा निकुञ्ज जोगाउन उक्त रुटको विकल्पमा प्राविधिकले सीमावर्ती सहर झाङ्मुको रुट पनि प्रस्ताव गरेका छन् । तर, भौगोलिक कठिनाइ र अन्य कठिनाइले उक्त रुटलाई प्राथमिकतामा राखिएको छैन ।

नेपालमा गएको ८.१ म्याग्निच्युडको भूकम्पले झाङ्मु क्षेत्रको भौगोलिक अवस्था कमजोर बनेको प्राविधिकको आधारमा उक्त रुट कम प्राथमिकतामा परेको हो । nepalpress

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार