साक्षर जिल्ला घोषणा गर्ने समय घर्कियो, तोकियो नयाँ समयसीमा

  हिमाल समाचार
91 Shares

सोलुखुम्बु – सोलुखुम्बुलाई यो वर्ष पनि साक्षर जिल्ला घोषणा गर्न सकिएन । चालु आर्थिक वर्षको अन्त्य सम्म जिल्लाका आठ वटै स्थानिय तहलाई साक्षर पालिका घोषणा गरेर जिल्लालाई नै घोषणा गर्ने लक्ष्य लिएको भएपनि साक्षर घोषणा कार्यक्रम असफल भएको हो ।

कोरोना महामारी र जिल्लाको महाकुलुङ गाउँपालिकामा साक्षरता घोषणाका लागि मापदण्ड नपुगेकाले घोषणा कार्यक्रम आउने आर्थिक वर्षका लागि सारिएको प्रमुख जिल्ला अधिकारी तथा साक्षरता अभियान जिल्ला समितका सदस्य गणेश विक्रम शाहीले जानकारी दिए ।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान र थुलुङ दुधकोशी गाउँपालिका साक्षर पालिका घोषणा भईसकेका छन् । अन्य स्थानिय तहहरु माप्यदुधकोशी, खुम्बु पासाङल्हामु, सोताङ र लिखुपिके गाउँपालिकाले साक्षरता घोषणाका लागि मापदण्ड पु¥याएका छन् । १५ देखि ६० वर्ष सम्मका ९५ प्रतिशत नागरिक साक्षर भएको खण्डमा सो क्षत्रेलाई साक्षर घोषणा गर्न मिल्ने प्रावधान रहेको छ ।

यो मापदण्डमा महाकुलुङ गाउँपालिकाले नागरिकलाई साक्षर बनाउन नसकेको शिक्षा विकास तथा समन्वय ईकाईको तथ्याङ्कमा उल्लेख छ । जिल्ला साक्षरता अभियान समितिका जिल्ला संयोजक तथा समन्वय समितिका प्रमुख वीरकुमार राईको अध्यक्षतामा बसेको आजको बैठकले आगामी माघ मसान्त सम्म सबै पालिकालाई साक्षरता पालिका घोषणा गर्ने र आउने फागुनमा जिल्लालाई नै घोषणा गर्ने निर्णय गरिएको प्रजिअ शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार