ब्राजिललाई हराउदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

  हिमाल समाचार
91 Shares

एजेन्सी – दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।

ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो ।

खेलको २२ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।

अर्जेन्टिनाले १५ औं पल्ट काेपा अमेरिकाकाे उपाधि जितेकाे हाे । याेसँगै सबैभन्दा धेरैपल्ट काेपा उपाधि जित्ने उरुग्वेकाे कीर्तिमान पनि अर्जेन्टिनाले बराबरी गरेकाे छ ।

सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।

बर्सिलोनाबाट क्लब फुटबलमा तहल्का मच्चाउँदै आएका ३४ वर्षीय मेस्सीलाई राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको आरोप लागेको थियो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलबाट स्वर्ण जितेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार