केन्द्रिय राजनीतिको प्रभाव, प्रदेश १ सरकार संकटमा

  हिमाल समाचार  204 पटक हेरिएको

काठमाडाैँ- केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेश १ का विपक्षी दलहरूले शेरधन राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा आन्तरिक छलफल थालेका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर नयाँ सरकार गठन भएसँगै १ नम्बर प्रदेशमा पनि सरकार फेर्नेसम्मको तयारी थालिएको हो ।
बजेट पास भएपछि सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् । एमालेको केपी शर्मा ओली पक्षका राई नेतृत्वको सरकार फेर्न यसअघि पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रदेश सरकारको अस्तित्व संकटमा परेको भएपनि अब कसरी अविश्वासको प्रस्ताव ल्याउने भन्ने विषयमा प्रमुख विपक्षी कांग्रेससहितका दलले आन्तरिक रूपमा अनौपचारिक छलफल थालिसकेका छन् । कुन प्रारूपमा अविश्वासको ल्याउने भन्ने तय भइसकेको छैन ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले केन्द्रमा सरकारको गठनबन्धन फेरिएको अवस्थामा प्रदेशमा पनि बहुमत पुग्ने देखिएकाले अब छलफल अघि बढ्ने बताएका छन् ।
प्रदेश १ मा एमालेका केन्द्रीय सचिव भीम आचार्यलाई मुख्यमन्त्री बनाउने विषयमा एक तहको छलफल भएको थियो । तर देउवा सरकार गठनका दिन नेता आचार्यले आफ्नो साथ ओलीलाई रहेको अभिव्यक्ति दिएपछि अब के हुने भन्ने द्विविधामा एमालेको नेपाल पक्षधरका सांसदहरू रहेका छन् ।

नेकपाका माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो विपक्षीलाई प्रदेश सरकारविरुद्धमा अविश्वास प्रस्ताव ल्याउन वा दर्ता गर्न सधैँ बाटो खुला हुने बताउँछन् ।
प्रदेश सरकार फेर्ने विषयमा नेपाल पक्षका सांसद राजेन्द्रकुमार राई र जीवन घिमिरे बाहेकका सांसदहरूको धारणा सार्वजनिक भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार