माप्य/दिक्प्यको छायाँचित्र तथा खालिङ वास बृत्तचित्र लोकार्पण

  हिमाल समाचार
371 Shares

काठमाडौं – खालिङहरुको आदिम पूर्खा माप्य र दिक्प्यको छायाँचित्र तथा खालिङ वास बृत्तचित्र लोकार्पण गरिएको छ । किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमितिद्धारा शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच संघीय सांसद हेमकुमार राई (सुरबीर)ले स्केच र बृत्तचित्रको औपचारिक लोकार्पण गरेका हुन् ।

माप्य र दिक्प्यको छायाँचित्र सम्बन्धि अवधारणा खालिङ संस्था अमेरिका शाखाको पहलमा तयार गरिएको थियो । सोही अवधारणामाथि विभिन्न तह र तप्कामा छलफलपछि यसलाई पूर्ण दिइएको हो । माप्य र दिक्प्य सम्बन्धि इतिहास र साँस्कृतिक पक्षहरुबारे थुप्रै लिखित र मौखिक आधारहरु तयार गर्ने क्रममा छायाँचित्र तयार गरिएको हो । खालिङ वास बृत्तचित्र भने सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको आर्थिक सहयोगमा तयार गरिएको हो ।

बृत्तचित्रमार्फत समुदायको जिवन्त भाषा, भेषभूषा र संस्कार संस्कृतिहरुलाई निक्कै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । बृत्तचित्रको स्कृप्ट लेखन लेखक गणेश कुमार राईले लेखेका हुन् भने छायांकन गंगराम राईले गरेका हुन् ।

सोही अवसरमा खालिङ समुदायले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १, सांलामा निर्माण गर्न लागेको खालिङ तम्र म्योलकम (साँस्कृतिक भवन)को थ्रीडी सहितको अवधारणा प्रस्तुत गरियो । उक्त अवधारणा किरात खालिङ राई तम्र म्योलकम निर्माण समितिका सहसंयोजक मानबीर खालिङले प्रस्तुत गर्नुभएको थियो ।

२०६९/०७० मा किरात खालिङ राई एकीकृत वस्ती निर्माण उपसमिति गठन भई सोही समितिमार्फत जग्गा व्यवस्थापनको काम सम्पन्न भएको थियो । त्यसपछि २०७६ ०७७ मा तम्र म्यालकम निर्माण समिति गठन भएयता समितिले काम सम्पन्न गर्नको लागि चरणवद्ध योजना अघि बढाइरहेको छ ।

समितिले तम्र कम (साँस्कृतिक भवन), संकम (मतान), सौचालय, धारा ट्यांकी, व्यवस्थित पार्किङसहितिको बगैचा, चिण्डो प्रतिमा र म्योल कम (कर्पोरेट विल्डिङ)लगायतको संरचना निर्माण गर्ने डिपिआर तयार गरेको छ । सोको लागि करिब साढे तीन करोड रुपैयाँको लागत लाग्ने डिपिआर तयार भएको छ । उक्त रकम व्यक्तिगत सहयोग, दातृ संस्था, निकाय तथा स्थानीय तह, प्रदेश र संघीय सरकारलगायतबाट जम्मा गर्ने भनिएको छ ।

तीन चरणमा काम सम्पन्न गर्नेगरी अघि बढाइएकोमा अहिलेसम्म पहिलो चरणअन्तर्गतको जग्गा सिमांकन गर्ने, पर्खाल लगाउने र घडेरी सम्याउने काम सम्पन्न भएको छ । अब दोस्रो चरणमा साँस्कृतिक भवन निर्माण गर्ने र मुद्युमी कार्य गर्दै जाने तथा तेस्रो चरणमा भने म्योलकम निर्माण गर्ने लक्ष्य लिइएको छ ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद राईले खालिङ समुदायको पहिचान र अस्तित्व स्थापित गर्न र दस्तावेजीकरणमा निक्कै उदाहरणीय काम भइरहेको बताए । एक अर्को प्रसंगमा उनले आफुले चुनावी मैदानमा उभिदै गर्दा गरेको बाचाअनुरुप पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सामाजिक विकासलगायत समग्र क्षेत्रमा बलियो आधार तयार भइसकेको बताउँदै विकास र सम्बृद्धि सम्भवउन्मुख रहेको दाबी गरे ।

माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले आफ्नो नेतृत्वमा भइरहेको विकास निर्माणको फेयरिस्त प्रस्तुत गर्दै आफु भाषणमा नभई परिणाममुखी काम गरेर जनतालाई गाउँ र समाजलाई सम्बृद्ध बनाउन अग्रसर रहेको दाबी गरे । गाउँपालिकालाई साँस्कृतिक पर्यटकीय हव बनाउने योजनाका साथ काम अघि बढाइको भन्दै उनले त्यसको लागि चिण्डो प्रतिमा निर्माण, बुद्धपार्क, विभिन्न गुम्बा तथा मठमन्दिर निर्माणका साथै विभिन्न जाति र समुदायको संस्कार, संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको पनि बताए । आफ्नो नेतृत्वमा गाउँपालिकाको विकासका लागि हार्डवेयर र सफ्टवेयर दुवै क्षेत्रमा स्पष्ट नीति तथा कार्यक्रम बनाएर बजेटको व्यवस्था गरेको उनको भनाई थियो ।

संस्थाकी अध्यक्ष सिताकुमारी खालिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान एसएसपी गहार्धन राई, किरात राई यायोक्खाका कोषाध्यक्ष देवान राई, अधिवक्ता विषण खालिङ, वरिष्ठ पत्रकार गजुरधन राई, समाजसेवी अर्जुन खालिङलगायतले संस्थाले अघि बढाएको ऐतिहासिक कामको प्रशंसा गर्दै आफ्नो ठाउँबाट सहयोग र सहभागिता जनाउने प्रतिबद्धता जनाए ।

सोही अवसरमा संस्थाको साँस्कृतिक भवन निर्माण अभियानका लागि ७ लाख रुपैयाँ सहयोग गर्ने सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी घर भई हाल काठमाडौं स्थायी बसोबास गर्दै आउनुभएको समाजसेवी तथा सफल व्यवसायी डेम्बुराज राई र ५० हजार रुपैयाँ सहयोग गर्ने खोटाङ दिक्तेल मझुवागडी नगरपालिका बुइपा ओर्लेनी निवासी इन्जिनियर धनध्वज खालिङ राईका साथै निवर्तमान एसएसपी गहार्धन राई, कोरोना कहरबीच सगरमाथा शिखर चुम्न सफल टेकबहादुर खालिङ र पञ्चे खालिङ तथा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल गायक पूर्ण राई लगायतलाई सम्मानित गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार