दुधकुण्ड पुगेपछि (फोटो फिचर)………

  बबि बस्नेत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु  380 पटक हेरिएको

सोलुखुम्बु – नयाँ-नयाँ ठाँउमा घुम्न जान अनि रमाइलो गर्न कसको ईच्छा हुँदैन र!

त्यो ठाँउ जहाँ प्राकृतिक सुन्दरताले भरीपूर्ण होस् र अझ त्यो ठाउँ धार्मिकस्थल भए त सुनमा सुगन्द भैहाल्यो।

सोलुखुम्बु आफैंमा एक सुन्दर जिल्लाको रूपमा विश्व परिचित छ। असंख्य हिमश्रृंखला र तालतलैया रहेको यहाँ बहुल जाती, भाषा, धर्म र संस्कृतिले पनि त्यतिकै धनि छ।

अझ विश्वको सर्वोच्व शिखर सगरमाथा र त्यसमाथि आरोहण गर्ने तेन्जिङ् नोर्गे शेर्पा र पासाङ ल्हामु शेर्पाले यो जिल्लासँगै मुलुकलाई विश्वसामू चिनाएका छन्।

प्राकृतिक एवं धार्मिक हिसाबले महत्व बोकेको जिल्लाको घुम्न छुटाउनै नहुने एक ठाउँ हो दूधकुण्ड।

साउनको पहिलो सोमबार दूधकुण्ड पुग्ने योजना अनुसार शनिबार नै सोलुखुम्बुको सल्लेरीबाट यात्रा सुरू भयो। काठमाडौंबाट भने विपी राजमार्गको खुर्कोटहुदैँ सिद्धिचरण राजमार्गबाट सल्लेरी पुग्नुपर्छ। हवाईमार्गबाट आउँदा फाप्लु एयरपोर्टमा अवतरण गरिसकेपछि दूधकुण्डको यात्रा सुरू गर्न सकिन्छ।

सल्लेरीबाट उत्तरतर्फ रिङमुसम्म कच्ची बाटोको ट्रयाक खोलिएकाले त्यहाँसम्म बोलेरो गाडी जाँदो रहेछ। हिँड्न मन पराउनेका लागि फाप्लु, चिवाङ, फेराहुँदै करिब ४-५ घण्टामा रिङमु पुगिन्छ।

रिङमुबाट करिब २-३ घण्टाको पैदल यात्रापछि सरकारीपाटी स्थानमा पुगिन्छ।

कतिपयलाई त हिँड्दा हिड्दै लेक लाग्ने समस्या हुन्छ। कोही बिरामी नै पर्ने गर्छन्। तसर्थ आफूलाई चाहिने औषधि, न्यानो कपडा, पानीको बोतल, लाठी र ड्राई फुड्स बोकेको राम्रो।

सरकारीपाटीबाट करिब ३ घण्टाको उकालो यात्रा पश्चात ३८६० मिटरको उचाईमा कामिडाँडा आईपुग्यौं। कामिडाँडाबाट उकालो तेर्सो बाटो हिँडेपछि जोङले खोला, गामटाङहुँदै सहस्रबेनी आएर बास बस्यौं।

बाटोमा हिँड्दा अग्ला-अग्ला पहाड, सुन्दर झरना, विभिन्न जातका फूल, पशुपन्छी, चराचुरूङ्गी, सुनपातिको मिठो बासना, चौरीगाईको दूध र छुर्फी सम्झन लायक यात्राका केही मिठा अनुभूतिहरु हुन्।

बिहानै ५ बजे सहस्रबेनीबाट करिब ३ घण्टाको ठाडो उकालो यात्रा पश्चात हामी दूधकुण्ड आईपुग्यौँ।

दूधकुण्ड सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा न. १ मा अवस्थित विशाल नुम्बुर हिमालको काखमा छ। यो कुण्ड समुन्द्र सतहबाट ४६३२ मिटर उचाईमा छ।

यो तालको अतिरीक्त यसको आसपास गंगाजमुना ताल, भुत पोखरी ताल, आँखेपोखरी ताल, महाकुण्ड ताल गरी जम्मा १० वटा स-साना ताल छन्।

हिन्दु, किराँती तथा बौद्ध धर्मावलम्बीको आस्थाको धरोहरका रूपमा लिइने यो ताल धार्मिक दृष्टिले निकै महत्वपूर्ण छ। प्रकृतिको अनुपम उपहार र आस्थाको धरोहर सोलुको दूधकुण्ड धार्मिक सहिष्णुताको केन्द्रको रूपमा चर्चित छ।

करिब १ शताब्दीअघि वर्षायाममा चौरी गोठालाले यो कुण्ड पत्ता लगाएको मानिन्छ। चौरीगाईले आफ्नो थुनबाट लामो समयसम्म दूध निकालेपछि दूधै दूधले भरिएको कुण्ड बनेको किम्बदन्ती छ।

बौद्धमार्गीको भनाई अनुसार परापूर्वकालमा चीनबाट आएका मन्जुश्रीले काठमाडौं उपत्यकामा रहेको पानीको केही भाग चोभारको डाडाँ काटेर बाहिर पठाएपछि बाँकी रहेको पानी यहाँ ल्याएर लुकाई राखेको र पछि त्यही पानीबाट कुण्ड बनेको प्रचलन र विश्वास छ।

त्यस्तै तिब्बत र नेपालका विभिन्न धार्मिक गुरूहरू यस स्थानलाई पवित्र धार्मिक आस्थाको थलो मान्ने र तपस्या गर्ने गर्थे भनिन्छ। बौद्धमार्गीले यहाँ बुद्धको प्रतिमा स्थापना गरी वर्षेनी पूजाआजासमेत गर्दै आएका छन्।

यस्तै देवता र असुरबीच अमृत प्राप्तीका लागी समुन्द्र मन्थन हुँदा कालकुठ नामक बिष उत्पति भएको र सारा जगत नै समाप्त हुन लाग्दा भगवान शिवले उक्त विष पिएको र दूधकुण्डकै जडिबुटी मिश्रित पानी पिएर विष मत्थर भएको विश्वास गरिन्छ।

पौराणिक कथामा उल्लेख गरिएका चन्द्राचल र दोर्णाचल पर्वत र त्यसमुनिको कुण्डलाई प्रतिबिम्मित गर्ने नुम्बुर र कारेलुङ हिमाल र दूधकुण्ड ताललाई हेर्दा समुन्द्र मन्थन यही स्थानमा भएको भन्न सकिन्छ।

त्यस्तै भगवान रामको कान्छो भाइ लक्ष्मण लंका युद्वका बेला मृत्युशैय्यामा पुगेको बेला ऋषिमुनीले हनुमानलाई तीन वटा बुटी ल्याउन आग्रह गरे: सन्जिवनी बुटी, समबन्धिनी बुटी र बिशल्या बुटी। यी बुटी शिर कुण्डको वरिपरी पाईने र शिर कुण्ड चन्द्रमा जस्तै देखिने चन्द्राचल र कैलाश जस्तै देखिने द्रोणाचलको मुनी रहेको बताएका थिए। जो अहिले नुम्बुर र कारेलुङ हिमालको नामले परिचित छ।

यस्तै खालिङ राईको उग्दम खुलुक्षेत्र लाई मानिन्छ। बाजे खुलुह्याङका दुई छोरा माप्पे र दिक्पेमध्ये दिक्पे सोलु खोला हुँदै दूधकुण्ड पुगेर बासस्थान रोजेको विश्वास गरिन्छ।

मुन्धुम मरन संस्कारमा मृत्युपश्चात मृतक आत्मालाई खुलुबाट बाटो देखाउँदै फुलेलीबाट चौसेट हुँदै दूधकुण्ड पुर्‍याउँछ र त्यहाँ गएर पूजा गर्दा आत्माले शान्ति पाउँछ भन्ने विश्वास राख्छन्।

दूधकुण्डको दर्शन गर्दा पापकर्म नष्ट हुने, कुण्डको जल ल्याएर घरमा र घरका सदस्यहरुलाई छर्किएमा सुख शान्ति तथा धन प्राप्त हुने, निसन्तान दम्पत्तीलाई सन्तान प्राप्त हुनेलगायतको जनविश्वास रहेको पाइन्छ।

दूधकुण्डको अवलोकनपछि हामी सोही दिन सल्लेरी फर्कियौं। बाटोमा ठाउँ ठाउँमा पहिरो गएको थियो। कुनै ठाँउमा साँघुरो बाटो भएकाले हिड्न केही असहज हुन्थ्यो।

खान र बस्नलाई समस्या, खानेपानीको अभाव, स-साना खोल्सामा पुलको अभाव, कुण्डको वरिपरी चर्पी नभएको, फोहर व्यवस्थापनका लागि उचित प्रवन्ध नगरिएको दूधकुण्ड यात्राका मुख्य समस्याहरू हुन्।

स्थानीय तथा वाह्य पर्यटकको सहजता र शुलभतालाई मध्यनजर गर्दै भौतिक तवरले यस क्षेत्रको विकास गर्नु आजको आवश्यकता हो। दूधकुण्ड सामुदायिक वन, रेडक्रस सोसाईटी जस्ता संघ संस्था तथा अन्य निकायहरू यस क्षेत्रको संरक्षण संवर्धन र प्रचारप्रसारमा जुटिरहेका छन्। राज्यले यस क्षेत्रको विकास लागि थप भूमिका खेल्नुपर् आवश्यकता रहेको छ।

सल्लेरी आईपुग्दासम्म जिउ धेरै गलिसकेको थियो। खुट्टाहरू बेस्सरी दुखेका थिए। झोला बोकेका काँधहरू कटकटी खाईरहेका थिए। थकान धरै भए पनि एक किसिमको उमङ्ग आईरहेको थियो। सायद सोलुको दूधकुण्डको यात्राले होला। साच्चै एकपटक पुग्नैपर्न ठाँउ रहेछ सोलुको दूधकुण्ड।

तस्बिरहरू

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार