मेरा पिकको बेसक्याम्प र हाइक्याम्पमा अनाधिकृत टहरा निर्माण, सरोकारवाला मौन

सोलुखुम्बु – मेरापिकको बेसक्याम्प र हाइक्याम्पमा अनाधिकृत टहरा निर्माण गरेको पाइएको छ । सोलुखुम्बुको महाकुलुङमा अवस्थित मेरा पिकको बेसक्याम्प र हाइक्याम्पमा व्यवसायीक प्रयोजनका लागि काठ र जस्तापाताको प्रयोग गरि टहरा निर्माण गरिएको पाइएको हो ।

आरोहण खुला गरिएको हिमालमा आरोहण बाहेक गतिविधि गर्न नपाईने कानुनी व्यवस्था भएपनि माथिल्लो क्षेत्रमा होटल व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुले आफूखुसी टहरा निर्माण र प्रयोग गर्ने गरेको त्यस क्षेत्रमा पुग्ने ट्रेकिङ गाइडले बताएका छन् ।

नाम नबताउने सर्तमा एक गाइडले भने, ‘मेरा पिकको बेसक्याम्प र हाईक्याम्प क्षेत्रमा निर्माण गरिएको टहरा सम्बन्धीत पर्यटन व्यवसायीले प्रयोग गर्दै आएका छन् । जस्ले हिमालमा कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाईने कानुनको खिल्ली उडाएको छ ।’

अनाधिकृत रुपमा टहरा निर्माण गरेको विषय मकालु बरुण राष्ट्रिय निकञ्ज लगायतका सरोकारवालालाई थाहा भएपनि होटल व्यवसायीको मिलेमतोमा कुनै पक्ष पनि नबोलेको अर्का ट्रेकिङ गाइड आरके राईले बताए ।

मेरापिकको हाइक्याम्प (५५ सय मिटर)मा निर्माण गरिएको टहरा

हाईक्याम्प (५५०० मिटर)मा रिफुजी मेरा होटलले टहरा निर्माण गरेको छ । बेसक्याम्पमा अन्य होटल व्यवसायीले पनि टहरा बनाएका छन् । आरोहणका क्रममा बास बस्दा आवश्यक पर्ने किचन लगायतका सामाग्री ल्याउने लाने झन्जट भएपछि बेसक्याम्प र हाईक्याम्पमा टहरा निर्माण गरेको व्यवसायीले बताउने गरेका छन् ।

टहरा निर्माणको गुनासो मकालु बरुण राष्ट्रिय निकञ्जको कार्यालयमा पुगेपछि बुङ कलष्टरबाट मेरा क्षेत्रमा बुझ्न पठाएको निकुञ्जका प्रमुख वार्डेन रामदेव चौधरीले जानकारी दिए । ‘गुनासो आएपछि कर्मचारीलाई बुझ्न पठाएका छौ । स्थलगत रिर्पोटको आधारमा आगामी कदम चाल्नेछौ ।’ वार्डेन चौधरीले यर्थाथ रिर्पोट नआएसम्म केही बोल्न नमिल्ने बताए ।

हिमालमा टहरा निर्माणको विषयमा गुनासो आएपछि नेपाल पर्वतारोण संघले आकस्मिक बैठक बसेर सरोकार राख्ने निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ । संघका महासचिव कुल बहादुर गुरुङले हिमालको सुरक्षा र पर्वतीय पर्यटनमा पर्ने असरलाई कम गर्न कदम चालियोस् भन्ने भाव सहितको पत्र महाकुलुङ गाउँपालिका, मकालु बरुण राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग र पर्यटन मन्त्रालयमा पठाउने निर्णय गरिएको बताए ।

पर्यटन विभागका पुर्व निर्देशक मिरा आचार्यले हिमालमा आरोहण बाहेकका कुनैपनि गतिविधि गर्न नपाईने बताईन् । ‘बेसक्याम्प र सो भन्दा माथी कुनै पनि किसिमको स्थायी संरचना बनाउनु कानुन विपरित हुन्छ ।’उनले भनिन् । ‘मलाई लाग्छ, ती स्थानमा संरचना निर्माणको लागि मन्त्रीपरिषद्को निर्णयले पनि पुग्दैन् । भनेपछि हिमाल कति संवेदनशील छ । आफैँ बुझ्नुस् ।

पर्यटकसंगै पटक पटक मेरा क्षेत्र पुगेका ट्रेकिङ गाइडहरुले टहरा निर्माणलाई नियन्त्रण नगर्ने हो भने हिमालको शोभा बिग्रने र पर्वतीय पर्यटनमा असर पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार