मेरा पिकमा टहरा निर्माणले कानुनको खिल्ली उडायो – निटोग

  हिमाल समाचार
595 Shares

काठमाण्डौँ । मेरापिकको बेसक्याम्प र हाइक्याम्पमा अनाधिकृत टहरा निर्माणको विषयमा नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले विरोध जनाएको छ ।

ट्रेकिङ गाइडहरुको सहयोगमा हिमाल एफ.एम.ले खारे क्षेत्रमा होटल व्यवसाय संचालन गर्दै आएका व्यवसायीले मेराको बेसक्याम्प र हाईक्याम्पमा अनाधिकृत रुपमा काठ र जस्तापाताको प्रयोग गरि टहरा निर्माण गरेको विषय प्रशारण तथा प्रकाशन गरेपछि विज्ञप्ती जारी गर्दै निटोगले आरोहण खुला गरिएको हिमालमा आरोहण बाहेकका कुनै पनि गतिविधि गर्न नपाईने कानुनको बर्खिलाप गर्दै टहरा निर्माण गरेको र त्यस विषयमा सरोकारवाला निकाय मौन रहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘हिमालमा भौतिक संरचना निर्माण गर्दा जलवायू परिर्वतनको भय बढेर जान्छ । हिमालको हिउँ पग्लेर जान्छ । त्यसले आम पर्यटन श्रमिकको रोजगारीमा समेत दीर्घकालिन असर पर्दछ ।’

अनाधिकृत कार्य रोक्न र निर्माण भएका टहरा हटाउन पर्यटन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पर्वतारोहण संघले आवश्यक कदम नचालिए निटोग प्रतिकारमा उत्रने अध्यक्ष राम काजि तिवारी ‘प्रयास’द्वारा हस्तक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एनएमएको अन्यौलतापुर्ण सूचना
मेरा पिक क्षेत्रमा अनाधिकृत रुपमा टहरा निर्माणबारे गुनासो सुनेपछि बैठक बसेर सम्बन्धीत स्थानीय सरकार, निकुञ्ज, विभाग र मन्त्रालयलाई आवश्यक कदम चाल्न अनुरोध गर्दै पत्र लेख्ने निर्णय गरिएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।

हिमाल एफ.एम.संग टेलिफोन कुराकानी गर्दै एनएमए महासचिव कुल बहादुर गुरुङले बैठकबाट पत्राचार गर्ने निर्णय भएको बताए । उनले भने, ‘कात्तिक २८ को बैठकले निर्णय अनुसार पत्राचार गर्छौ । हाम्रो परमिट जारी गर्ने काम हो । कारबाहीको अधिकार नभएकाले सम्बन्धीत निकायलाई अनुरोध गर्ने हो ।’कात्तिक २९ गते आफू पोखरा रहेकाले फर्कनासाथ पत्राचार गर्ने बताएका थिए ।

तर संघकै एक पदाधिकारीले मेरा पिकमा अनाधिकृत रुपमा टहरा निर्माण गरेको विषय बारे छलफललै नभएको बताए । हिमाल एफ.एम.संग कुरा गर्दै उनले भने, ‘विषयले प्रवेश नै नपाएपछि निर्णय हुने त कुरै भएन ।’

बैठक बस्नुअघि कात्तिक २८ गते एनएमए अध्यक्ष शान्तवीर लामासंग कुराकानी हुँदा उनले टहरा निर्माणको विषयले प्रवेश पाउने र पत्राचार गर्ने निर्णय हुने बताएका थिए ।

समाचार प्रकाशित भएपछि पर्यटन व्यवसायी र सम्बन्धीत निकाय भित्र आन्तरिक छलफल चलेको सूचना प्राप्त भएको छ । स्रोतका अनुसार यो विषयलाई सतहमा ल्याउन नदिनका लागि संलग्न व्यक्ति लागि परेका छन् । तर हिमाललाई माया दर्शाउने पर्यटन व्यवसायीले भने सान्दर्भिक विषय उठान भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहोस् ।

मेरा पिकको बेसक्याम्प र हाइक्याम्पमा अनाधिकृत टहरा निर्माण, सरोकारवाला मौन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार