फलोअप : अनाधिकृत टहरा हटाउन र काठ तस्करी रोक्न माग गर्दै विभागमा उजुरी

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – मेरा पिकको बेसक्याम्प र हाईक्याम्पमा अनाधिकृत रुपमा टहरा निर्माण र निकुञ्ज क्षेत्रमा भइरहेको काठ तस्करीको विषयमा दोषीलाई कारबाहीको माग गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा निवेदन दर्ता गरिएको छ ।

पर्यटन व्यवसायी तथा जलवायू परिर्वतनको सवालमा चासो राख्ने सरोकारवालाहरुले कानुन विपरित हिमालमा टहरा निर्माण गर्ने र मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने कोठेमा काठ तस्करी गर्ने गिरोहमाथि अनुसन्धान गर्न र दोषीलाई कारबाहीको माग गर्दै विभागमा फोटो प्रमाण सहित निवेदन दर्ता गराएका हुन् ।

आईतबार दर्ता भएको निवेदनमा भनिएको छ, ‘मेरा पिकको बेसक्याम्प र हाईक्याम्पमा निर्माण गरिएको टहरा तत्काल हटाउन, काठ तस्करीलाई रोक्दै संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दछौ ।’

निवेदन बुझ्दै विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले कानुन विपरित भएका सम्पुर्ण कार्यमा विभागको ध्यानाकर्षण भएको भन्दै ७ दिन भित्र मकालु बरुण राष्ट्रिय निकुञ्जबाट जवाफ माग गर्ने बताए । चित्तबुझ्दो जवाफ नपाए छानविन समिति बनाएर स्थलगत अनुगमनमा पठाउने महानिर्देशक कँडेलले बताए ।

उनले भने, ‘राज्यको सम्पत्ति माथी भईरहेको दोहनलाई रोक्न हामी प्रतिबद्ध छौँ । हिमाल र हिमाली भेगमा हुने यस्ता वेथिती न्यूनिकरणमा सरोकारवाला सबैले सहयोग गर्नुपर्छ ।’ पहुँचको आधारमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको उनले बताए ।

खारे क्षेत्रका होटल व्यवसायीले कानुन विपरित मेरा पिकको हाईक्याम्पमा टहरा निर्माण गरेको समाचार संगै मकालु बरुण राष्ट्रिय निकुञ्जमा जथाभावी रुख कटानको विषय पनि बाहिरिएको थियो । कानुन विपरित भएको दुवै काम तत्काल रोक्नका लागि पर्यटन व्यवसायीहरुले माग गर्दै आएका छन् ।

यो पनि,

मेरा पिकको बेसक्याम्प र हाइक्याम्पमा अनाधिकृत टहरा निर्माण, सरोकारवाला मौन 

मेरा पिकमा टहरा निर्माणले कानुनको खिल्ली उडायो – निटोग

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार