नेपाललाई स्तरोन्नति गर्ने प्रस्ताव अनुमाेदन

काठमाण्डाै- नेपाललाई संयुक्त राष्ट्र सङ्घको महासभाले आउँदाे सन् २०२६ सम्ममा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।

त्यस प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईका अनुसार  नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्र सङ्घले बुधवार अनुमोदन गरेको हो ।

त्यस अवसरलाई सम्बोधन गर्दै राईले नेपालले आउँदाे पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

राईले नेपालले स्तरोन्नतिका लागि गरेको मेहनतलाई कार्यान्वयन तहमा पुर्‍याउँन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।  नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

राष्ट्र सङ्घले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरूको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । पचास वर्षपछि नेपालले विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्त्वपूर्ण अवसर हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार