चिटिक्क बन्यो फुर्के पोखरी

  शिखर गजरकोटे
406 Shares

सोलुखुम्बु – पर्यटक आकर्षण गर्न सक्ने संभावना बोकेको फुर्के पोखरी । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ मा अवस्थित छ । घमाइलो पोखरी केही बर्ष देखि सुख्खा थियो । पोखरीको पानी सुकेपछि यूवाहरुको खेल मैदानको रुपमा परिणत भएको थियो ।

तर अहिले फर्के पोखरीको स्वरुपले नयाँ रुप पाएको छ । पोखरीको पुनःमर्मत र पानी भरणको काम गरिएपछि अहिले मनमोहक बनेको छ । जलवायू परिर्वतन अनकुलन तथा न्यूनिकरण सम्बन्धी परियोजना सोलुवाट्रिको लगानी, नेचासल्यान गाउँपालिकाको समन्वय र स्थानीय निर्माण समितिको अगुवाईमा मर्मत र पानी भरणको काम सकिएपछि खेल मैदानमा परिणत भइसकेको पोखरी पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ ।

२०७७ माघ १३ देखि शुरु भएको पोखरी मर्मतको काम २७ लाख ३२ हजार ९१९ रुपैँयामा २०७८ भाद्र ११ मा सम्पन्न गरिएको थियो । लग्जम्बर सरकारको इन्टरनेश्नल क्लाईमेट फण्डको लगानी र ग्रामिण विकास संस्था काभ्रेको अगुवाईमा पोखरीको स्वरुप परिर्वतन संभव भएको हो ।

के गरिएको थियो ?
फुर्के पोखरीको ओरिजिनल स्वरुप बिगारिएको छैन् । पोखरीमा पानी अडिने प्रविधि अनुसार काम गरिएको हो । सोलुवाट्रि परियोजनाका प्रबन्धक भिमराज राईका अनुसार पोखरीको पुनःनिर्माण र पानी पुनःभरणको काम वातावरणमैत्री, जैविक विविधता कायम राखेर गरिएको छ । पर्यटकीय प्रर्वद्धन र सामाजिक, सांस्कृतिक पक्षलाई पनि खलबलाइएको छैन् ।

प्रबन्धक राई भन्छन्, ‘पोखरीको पुरानो माटो बाहिर फाल्ने क्रममा दुई वटा प्वाल भेटियो । भेटिएको प्वाल टाल्नका लागि ढुंगामाटो, सामान्य पिसिसि र चालेको माटो प्रयोग गरियो । पुरानो माटो फालेपछि माथिल्लो सतहमा चालेको माटो र खेर गएको जंगलको माटोले सम्याइयो । पुरानो माटो फाल्न र माटो फिलिङका लागि जेसिबी प्रयोग गरियो ।’

पोखरीको सतहको भाग सम्याइसकेपछि ६० मिटर लम्बाई र ४० मिटर चौडाइ भएको पछि गल्ने प्रकारको प्लाष्टिक विच्छाएर छेउछाउको भाग चालेको माटोले थिच्ने काम गरिएको छ । पोखरीमा पानी पुनःभरणका लागि पोखरी देखि ९ सय मिटर टाढाको मुहानबाट ५० एमएमको पाइपमा पानी ल्याइएको छ । पानी भरणमा आकाशे पानी र भलको पनि सहायता लिइएको सोलुवाट्रिका प्रबन्धक राईले बताए ।

पोखरीको क्षमता २४ लाख लिटरको हो । यसरी संरक्षण र संवद्र्धन अभावमा खेल मैदानमा परिणत भएको फुर्के पोखरीले पुनःजीवन पाएको छ । अहिले पोखरी क्षेत्र घुम्न लायक बनेको छ ।

अबको तयारी !
पहिलो बर्षमा फर्के पोखरीलाई चिटिक्क बनाएको सोलुवाट्रि परियोजना अन्तरगत अन्य चार पोखरीमा पनि मर्मत र पानी भरणको काम गरिनेछ । यो बर्ष नेचासल्यान ३ मा अवस्थित सुकेपोखरी र नेचासल्यान ५ मा अवस्थित तीन कन्या पोखरीको मर्मतको काम हुनेछ ।

अर्को बर्ष नेचासल्यान १ मा अवस्थित भेडीखोर पोखरी र नेचासल्यान ५ मा अवस्थित खुने पोखरीको मर्मत र पानी भरणको काम गर्ने योजना रहेको सोलुवाट्रि परियोजना प्रबन्धक भिमराज राईले जानकारी दिए । ती पोखरी पनि पानी विहिन बनेको छ ।


सोलुवाट्रिको अन्य काम
पानी व्यवस्थापन अन्तरगत पोखरीको मर्मत र पानी भरणको काम गर्दै आएको परियोजनाले सिंचाई व्यवस्थापनका लागि प्लाष्टिक पोखरी निर्माण, साना सिंचाई व्यवस्थापन लगायतको काम पनि गरिरहेको छ । परियोजनाले वन वातावरण, क्षमता अभिबृद्धि र स्थानीय सरकारसंगको सहकार्यमा म्याचिङ फण्ड अन्तरगत कृषिमा समेत लगानी गर्दै आएको छ ।

वन वातावरण तर्फ नेचामा ५ रोपनी क्षेत्रफलमा स्थानीय जातलाई प्राथमिकतामा राखेर काठका लागि राम्रो मानिएका, डालेघाँस र उच्च भ्यालू भएका रुखको विरुवा उत्पादन थालेको छ भने सामुदायीक वन र कृषक समूहको माध्यमबाट खेर गएको जमिनमा वृक्षारोपणको काम समेत थालेको छ । स्थानीय संभावनाको आधारमा जडिबुटीको व्यवसायीक खेति तर्फ कृषकलाई प्रोत्साहन दिने कार्यपनि रहेको प्रबन्धक राईले बताए ।

क्षमता अभिबृद्धिको क्षेत्रमा वन वातावरण व्यवस्थापन, संवद्र्धन र जलवायू परिर्वतनका विषयमा सचेतना तालिम प्रदान गर्दै आएको सोलुवाट्रि परियोजनाले स्थानीय सरकारको सहकार्यमा स्थानीय जलवायू अनकुल कार्ययोजना निर्माण समेत गर्नेछ ।

प्रांगारिक फर्म स्थापनामा जोड दिएको परियोजनाले कृषकको सुधारिएको गोठ, बेमौसमी अर्गानिक कृषि उत्पादनका लागि प्लाष्टिक टनेल वितरण गरेर स्थानीयलाई आयआर्जनमा प्रोत्साहन गर्दै आएको छ ।

फोटो – भिमराज राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार