उमेरलाई मात्र आधार मानेर मूल्याङ्कन नगर्न लिङ्देनकाे आग्रह

  हिमाल समाचार  66 पटक हेरिएको

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले  देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए ।आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र रहेका अग्रज नेताहरूलाई लक्षित गर्दै यस्ताे बताएका हुन ।

उनले पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले आफूलाई बोलाएरै आशीर्वाद दिएको भन्दै आभार प्रकट गरे ।

​उनले महिनाभित्र राप्रपा बाहिर रहेका राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने व्यक्तिहरू, संस्थाहरूलाई समेटेर आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बाटोको प्रस्थान बिन्दुका रूपमा आफ्नो उम्मेदवारी रहेको बताए ।उनले नेतृत्व परिवर्तनको पक्षमा मुख खोल्न पार्टीका अध्यक्ष पशुपति शमशेर जबरालाई समेत आग्रह गरे । पार्टीका अर्का अध्यक्ष कमल थापालाई पनि उनले समयको पदचापलाई र कार्यकर्ताको भावना बुझ्न आग्रह गरे । उनले कमल थापालाई लक्षित गर्दै भने, ‘म बन्नुमा तपाईंको पनि मेहनत छ, लगानी छ । राजेन्द्र लिङ्देन अध्यक्ष बन्दा कसैले अपमानित हुनु पर्दैन ।’

आफूलाई अध्यक्ष बन्ने उमेर नभएको भनेर टिप्पणी गर्नेहरूलाई लक्षित गर्दै लिङ्देनले भने, ‘राजाको आशीर्वाद लिएर मन्त्री हुने तपाईंहरू ३०/४० वर्षको उमेरमा मन्त्री हुनुभयो, कति बुढोपाकोले तपाईहरुलाई त्यो बेलामा माने होलान् त ?’ उनले आफ्नो उमेर, मेरो जीवनको अवस्थालाई मात्र आधार मानेर मूल्याङ्कन नगर्न आग्रह पनि गरे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार