मेरा क्षेत्रमा टहरा बनाउनेलाई कारबाही गर्न एनएमएको पत्र, स्थलगत छानबीन गर्न निटोगको माग

  हिमाल समाचार  604 पटक हेरिएको

सोलुखुम्बु – नेपाल पर्वतारोहण संघले मेरा पिक लगायतका साना पिकको बेस क्याम्प र हाई क्याम्पमा टहरा निर्माण गरि कानुन विपरितको काम बारे छानबीन गर्न र दोषीलाई कारबाही गर्नका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जलाई पत्राचार गरेको छ ।

नेपाल स्वतन्त्र पर्यटक श्रमिक संघ (निटोग)को ध्यानाकर्षणपछि संघले निकुञ्जलाई पत्राचार गर्दै जलवायू परिर्वतनमा समेत असर पर्ने खालको गतिविधिमा संलग्नलाई कारबाही गर्न अनुरोध गरेको छ । संघले लेखेको पत्रमा गत कात्तिक २८ मा १४१ औँ केन्द्रिय सचिवालय बैठकले पनि कानुन विपरितको काम रोक्नका आग्रह गर्ने निर्णय गरिएको समेत उल्लेख छ ।

मंसिर ६ मा लेखिएको पत्रमा संघका अध्यक्ष सन्तवीर लामाले हस्ताक्षर गरेका छन् । यसैबीच, नेपाल स्वतन्त्र पर्यटक श्रमिक संघ (निटोग)ले मकालु बरुण राष्ट्रिय निकुञ्ज अन्तरगत बुङ कलष्टरबाट अनुगमनका लागि मेरा गएको रेञ्जरको टोलीले घटनालाई ढाकछोप गर्दै कर्मकाण्डि प्रतिवेदन बुझाएको भन्दै पुनःछानबीन र स्थलगत अनुगमनको माग गरेको छ ।

निटोगका अध्यक्ष रामकाजी तिवारीले मंसिर १५ गते स्थलगत अध्ययन र सत्यतथ्य छानबीनको माग गर्दै निकुञ्जमा उजुरी दर्ता गराएका छन् । खारेबाट फर्किएको टोलीले मौसम प्रतिकुल, आरोहण इक्यूपमेन्ट अभाव देखाउदै घटनाको ढाकछोप गर्ने गरि सतही प्रतिवेदन निकुञ्जलाई बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार