टिम्बुरबोटे काण्डको ४८ बर्ष, शहिद परिवार भन्छन्, ‘पार्टी र राज्य दुवैले उपेक्षा गरे’

‘टिम्बुरबोटेको संरक्षणको जिम्मेवारी सम्पुर्ण प्रजातन्त्रप्रेमीहरुको हो’

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – टिम्बुरबोटे घटना भएको ४८ बर्ष पुरा भएको छ । यो घटना वि.सं २०३१ पुष १ गते सोलुखुम्बुको तिङ्गला स्थित टिम्बुरबोटे जङ्गलमा भएको थियो । सो घटनामा सरकारी दमनमा नेपाली कांग्रेसका १३ जना स्वतन्त्र सेनानीहरूको हत्या भएको थियो । विपि कोइरालाको नेतृत्वमा २०३०/३१ सालमा नेपाली कांग्रेसले पंचायती व्यवस्थाविरुद्ध शसस्त्र क्रान्ति गरकै बेला यो घटना भएको थियो ।

कप्तान यज्ञबहादुर थापाको नेतृत्वमा भूतपूर्व सैनिकलगायत पार्टीका समर्पित जोशिला युवालाई सम्मिलित गराएर भारतको फारविसगन्ज, बरथवा, वीरपुर र वनारसमा सामान्य सैन्य तालिम दिएर लडाकुदस्ता तयार पारिएको थियो । यो लडाकु डफ्फाले पूर्वी पहाडी जिल्लाहरू कब्जा गर्दै स्थानीय सरकार गठन गर्दै अघि बढ्ने योजना बनाएको थियो । करिब ४० जनाको यो डफ्फा मङ्सिरको पहिलो साता वनारसबाट मधुवनी हुँदै नेपाल भित्रिएको थियो । कमला नदीको किनारैकिनार अघि बढेको कप्तान यज्ञबहादुर थापाको कमान्डरीको यो सैन्यदस्तामा होनहार जुम्ल्याहा क्रान्तिकारी युवा राम–लक्ष्मण उपाध्याय, महेश कोइराला, महेश कोर्मोचा, चन्द्रमान तामाङ, माइला राई, पद्मप्रकाश पुरी, मानबहादुर मगर, एल्बी गुरुङलगायतका लडाकुहरू थिए ।

सिन्धुली, उदयपुर हुँदै ओखलढुङ्गा पुगेको दस्ताको रासनपानीको व्यवस्थाका लागि अर्को छुट्टै टोली खटिएको थियो । तर, रासनपानीको व्यवस्था गर्न खटिएको टोलीले राम्रोसँग जिम्मेवारी वहन नगरिदिँदा सैन्यटोलीले हैरानी बेहोर्नुपरेको थियो । प्रशासनको निगरानी, धरपकड, अभाव, जाडो, ओढारको बास, अनेक प्रतिकूल बाधाबीच पनि यो दस्ताले ओखलढुङ्गा कब्जा गर्ने योजना बनाएको थियो । प्रशासनले यसको सुइँको पहिले नै पाइसकेको जानकारी प्राप्त भएपछि सुरक्षित स्थानको खोजी गर्दै टोली सोलुखुम्बु जिल्लाको तिङ्ला गाउँको सिरानमा रहेको घनाजङ्गलबीचको ओढारलाई सेल्टर बनाएर बसेको थियो ।

यो दस्तालार्ई सुरक्षित रूपमा बसेर योजना बनाउन र रासनपानीको सामान्य व्यवस्था गर्न केही तिङ्लावासीले सघाएका पनि थिए । प्रशासनले ओखलढुङ्गा र सोलुखुम्बुको प्रशासनिक सुरक्षाका लागि थप सैन्यबल पठाइसकेको थियो । गाउँ–गाउँमा छापा मार्ने र धरपकड गर्ने काम भइरहेको थियो । सबै सुराकी पाएपछि सेनाले टिम्बुरबोटे क्षेत्रलाई कब्जामा लिएर घेराउ ग¥यो । कोही पनि भाग्न नसक्ने अवस्था बनाइसकेपछि मङ्सिर मसान्तको राति हेलिकोप्टरबाट ओढारमा ग्रिनेड प्रहार गरियो । मेसिनगनबाट अन्धाधुन्द गोली वर्षाइयो । हतियार उठाउन पाएकाहरूले दोहोरो फायरिङ गरे । कतिले हतियार समाउनै पाएनन् ।

यसरी ओढारभित्रै प्रजातान्त्रिक योद्धाहरूको ज्यान लिइयो । ओढारभित्रै मारिनेहरूमा राम–लक्ष्मण उपाध्याय, श्यामकुमार गुरुङ, पद्मप्रकाश पुरी, नेत्रबहादुर कार्की, मानबहादुर मगर, चन्द्रमान तामाङ, माइला राई, प्रजालाल राईलगायतका थिए । कमान्डर क्याप्टेन थापा, महेश कोइराला, एल्बी गुरुङलगायतका केही योद्धा गोली र विस्फोटमा पर्नबाट जोगिनुभएको थियो । रूखमा छेलिएर फायरिङ गर्दै प्रतिकार गर्नेक्रममा कोइरालालाई पनि गोली लाग्यो । कालको मुखबाट त्योबेला उम्किन सफल हुनुभएका थापालाई केहीपछि आफ्नै गाउँ खानीभञ्ज्याङछेउको पुरोहितको परालको माचमा लुकेको अवस्थामा सेनाले पक्राउ गरेको थियो । ज्वरो र खोकीले थलिनुभएका क्याप्टेनलाई सेनाले हेलिकोप्टरमार्फत काठमाडौँ ल्याई जेल हालेको थियो ।

उनी र विराटनगर बमकाण्डमा समातिएका भीमनारायण श्रेष्ठलाई विसं २०३५ मङ्सिर २६ गते कमला नदीकिनारमा गोली हानी हत्या गरिएको थियो । त्यहाँबाट उम्किन सफल भएकाहरूलाई गाउँगाउँबाट समातेर यातना दिइयो । कतिलाई सोलुखोला र सल्लेरीको वनमा लगेर मारियो । केहीलाई ओखलढुङ्गाको ठाडेको जङ्गलमा त केहीलाई भने ओखलढुङ्गाको सुनकोसीघाट, टोक्सेलमा ल्याएर मारियो । उक्त डफ्फामा कति जना संलग्न थिए र कति जना मारिए भन्नेसम्मको स्पष्ट आँकडासमेत पनि नेपाली काँग्रेससँग छैन ।

घटनास्थलबाट उम्किन सफल भएका एल्बी गुरुङ र जसधन राईका अनुसार ठाउँठाउँमा मारिएकाहरूमा अगममणि राई, शिवकुमार राई (खर्तम्छा खोटाङ), मानबहादुर लिम्बू, कृष्णबहादुर लिम्बू (सुनसरी), शमशेरबहादुर कार्की, अम्बरबहादुर खड्का, रामकुमार सुनुवार, हर्कबहादुर कार्की, भीमबहादुर कटुवाल, अगमसेर राई, होमसेर राई, टीकाराम राई लगायतका थिए ।

ओढारमा मारिएकाहरूको शवसमेत उठाउन परिवारलाई दिइएन । तीन वर्षपछि महेश कोइरालाका बुवा पण्डित तेजप्रसाद कोइरालाले ओढारमा गएर भेटिएका केही हाडखोरको सद्गत गरी सात दिनसम्म त्यहीँ बसेर श्रीमद्भागवत पाठ गरेर आएका थिए । बीपी कोइराला स्वयमले उक्त घटनालाई नेपाली काँग्रेसको भुल थियो भन्नुभएको थियो । त्यो बेलाका कमान्डर गिरिजाप्रसाद कोइराला धेरैपटक मुलुकको प्रधानमन्त्री बन्नुभयो तर त्यो भुललाई स्वीकार गरेर यथार्थ जानकारी त्यो समयमा पनि बाहिर ल्याउने काम भएन ।

उनकै प्रधानमन्त्रित्वकालमा केही अगुवाहरूको सक्रियतामा ‘टिम्बुरबोटे स्मृति प्रतिष्ठान’सम्म बनाइएको थियो । यस संस्थाका नाममा करोडौँको बजेट विनियोजन गरिएको सार्वजनिक हुन्थे तर उक्त करोडौँको बजेटले टिम्बुरबोटेमा पचास–सयवटा ढुङ्गा थुपारेर चौतारोजस्तो बनाउनेभन्दा अर्को कुनै काम भएको देखिएन । बजेट हिनामिना भएको भन्दै अख्तियारमा उजुरी परेको भए पनि त्यसलाई त्यत्तिकै सामसुम पारेर ‘भागशान्ति जयनेपाल’ पार्ने काम भयो । यस्तो कार्यले शहिर परिवारलाई भने लज्जाबोध बाहेक अरु केही भएको छैन् ।

२०७२ फागुन १९ मा तत्कालिन केपी शर्मा ओलीको सरकारको पालामा निरंकुश व्यवस्थामा मारिएका दुई दर्जन व्यक्तिलाई सहिद घोषणा गरेको थियो । साथै छिन्ताङ काण्ड र टिम्बुरबोटे काण्डका बारेमा छानविन गर्न ५ मन्त्री सम्मिलित कार्यदलसमेत बनेको थियो । उपप्रधान तथा रक्षामन्त्री भीम रावलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कमिटीमा उपप्रधानमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्तिबहादुर बस्नेत, सिञ्चाइमन्त्री उमेश यादव र भूमिसुधारमन्त्री रामकुमार सुब्बा रहेका थिए । तर त्यो कार्यदलले काम गर्न पाएन ।

कार्यदलका सदस्य तत्कालिन उपप्रधानमन्त्री तथा जनमोर्चा अध्यक्ष चित्र बहादुर केसीले कार्यदल गठन भएपनि सरकार परिर्वतनका कारण काम शुरु नै गर्न नपाएको बताए । उनले भने, ‘त्यो बेला टिम्बुरबोटे लगायतका घटनाको बारेमा छानविन गर्ने गरि कार्यदल बनाइयो तर चीन संग सरकारले गरेको पारवहनको विषयमा विवाद चुलिएपछि सरकार परिर्वतन भयो । काम शुरु नै हुन पाएन ।’ त्यसपछिका सरकारले त्यस विषयलाई छलफलमा ल्याएजस्तो नलागेको अध्यक्ष केसीले बताए ।

सोही मन्त्रिपरिषद्को निर्णयले टिम्बुरबोटे घटनाका क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुंगा), राम उपाध्याय (सिराहा), लक्ष्मण उपाध्याय (सिराहा) लगायत २२ जनालाई सरकारले सहिदको मान्यता दिएको छ ।

केशर थुलुङ राईको अध्यक्षतामा ‘टिम्बुरबोटे सरोकार समाज’गठन गरेर शहिद परिवार र घटनामा सम्बन्धीत व्यक्तिहरुले तत्कालिन जिल्ला विकास समितिले बर्षेनी १०–१० लाख निकासा हुदै आएको बजेट रोक्यो । यसअघि ‘टिम्बुरबोटे स्मृति प्रतिष्ठान’को नाममा विनियोजन भएका सम्पुर्ण रकमको कुनैपनि काम नदेखेपछि ‘टिम्बुरबोटे सरोकार समाज’गठन गरेर अघि बढेको शहिद पुत्र मनोज खड्काले बताए । त्यसपछिको बजेटले दुई वटा साना घर, शिलामा ४७ जना शहिदको नाम लेख्ने लगायतका काम भएको छ ।

कांग्रेस सोलुखुम्बुका पुर्व पार्टी सभापति आङगेलु शेर्पा टिम्बुरबोटे ऐतिहासिक थलो भएकाले शहिरको सम्झनामा व्यवस्थित पार्क र शहिरहरुको प्रतिमा बनाइयोस् भन्ने चाह रहेको बताए । ‘त्यतिमात्र होईन, शहिद परिवारलाई गाँस, बास, कपासका साथै शिक्षा, स्वास्थ्य निशुल्क गरिदिओस् भन्ने चाहन्छौ ।’उनले भने ।

टिम्बुरबोटे घटनाको स्मरण गर्दै सोलु कांग्रेसका पुर्व पार्टी सचिव चन्द्र आचार्य लेख्छन्, ‘धेरै पुस १ आए, गए । टिम्बुरबोटे घटनाबारे कांग्रेस नै वेखबर छ । नयाँ नेतृत्वको ध्यान जाओस् । शहिदहरुप्रति हार्दिक श्रद्धान्जली !’

टिम्बुरबोटे घटनाका शहिद परिवार गुनासो बेग्लै छ । शहिद परिवारलाई पार्टी र राज्य दुवैले उपेक्षा गरेको उनीहरुको भनाई छ । शहिद अम्बरबहादुर खड्काका पुत्र मनोज खड्का प्रजातन्त्र प्राप्तीका लागि गरिएको शसस्त्र क्रान्तिका बेला भएको घटनाका शहिद परिवार उपेक्षामा रहेको बताउछन् ।

‘इतिहासमा महत्वपुर्ण मानिएको टिम्बुरबोटेको संरक्षणमा सरकार र कांग्रेस पार्टीले विशेष ध्यान दिन आवश्यक छ ।’उनले भने, ‘टिम्बुरबोटेलाई म्यूजियमको रुपमा विकसित गर्नुपर्छ । गुरुयोजना बनाएर काम गर्न सके आउदो पुस्ताले पनि टिम्बुरबोटेको बारेमा जान्ने वातावरण मिल्छ ।’

यदि टिम्बुरबोटे व्यवस्थापनमा कसैले चासो देखाएन भनेपनि ‘शहिद अमर बहादुर स्मृती प्रतिष्ठान’मार्फत संरक्षणको प्रयासमा होमिने शहिदपुत्र खड्काले सुनाए ।

 

हेर्नुहोस्, शहिद पुत्र मनोज खड्कासंग एक बर्ष अघि हिमालकर्मी सृष्ट्रि सुनुवारले गर्नुभएको कुराकानी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार