दुई पटक म्याद थप्दा पनि सोताङ–महाकुलुङ हुँदै भोजपुर जोड्ने सडकको काम मुस्किलले ५० प्रतिशत

  हिमाल समाचार
3.7k Shares

सोलुखुम्बु – दुई पटक म्याद थप्दा पनि सोताङ–महाकुलुङ हुँदै भोजपुर जोड्ने सडकको काम मुस्किलले ५० प्रतिशत पुरा भएको छ ।

२६ माघ २०७४ मा सडक निर्माणको लागि हिमाली देवढुंगा–ओम बुद्ध जेभीसंग सम्झौता भएको थियो । सम्झौता अनुसार २६ साउन २०७६ सम्ममा सडक ओपनको काम सक्नुपर्ने थियो । तर अपेक्षाकृत कामै हुन सकेन ।

मुलुकमा संघीय संरचना लागु भएपछि तत्कालिन अवस्थामा सडक भिडिजन कार्यालय हर्कपुर मातहतमा रहेको उक्त सडक योजना प्रदेश सरकार मातहतमा राखिएपछि ३० जेठ २०७७ मा पुर्वाधार विकास कार्यलय ओखलढुंगालाई योजना हस्तान्तरण गरिएको थियो ।

कार्यलयका प्रमुख गंगासागर यादवले थप समय अनुसार आयोजना सम्पन्न मिति १३ असार २०७८ भएपनि मुस्किलले ५० प्रतिशत काम सकिएको बताए । उनका अनुसार तेस्रो पटक भ्याद थपको प्रक्रिया चलेको छ । चैत मसान्तसम्म पुनः म्याद थप हुने संभावना देखिएको छ । तर थपिएको म्यादमा पनि सडक निर्माणको काम सम्पन्न हुने संभावना न्यून देखिएको छ ।

अहिले सडक निर्माणको काम सोताङबाट महाकुलुङ गाउँपालिका ५ चाचालुङ पुगेको छ । चाचालुङ वस्ति माथीबाट सडकको ट्रयाक ओपन गर्नुपर्ने प्राविधिक नक्सा छ तर पहिरोको जोखिम क्षेत्र मानिएको ठाउँमा सडक निर्माणले चाचालुङ वस्तिनै जोखिममा पर्ने भन्दै स्थानीयबासीले सडक निर्माणको लागि अवरोध गर्दा तोकिएको समयमा काम गर्न नसकेको हिमाली देवढुंगा–ओम बुद्ध जेभीका स्थानीय प्रतिनिधि दावा शेर्पाले बताए ।

विवाद मिलानका लागि जनप्रतिनिधि र स्थानीयबीच छलफल हुने र निकास निकाल्ने भनिएको यसअघिको मितिमा बैठक बस्न नसकेको र यहि माघ ८ गते बैठक बस्ने तयारी गरिएको छ । बैठकले निकास निकाले मात्रै ट्रयाक ओपनको काम अघि बढ्ने निर्माण कम्पनीका प्रतिनिधि शेर्पाको भनाई छ । उनका अनुसार अहिले गुदेलको भागमा पहरा फुटाउने आशिंक काम भइरहेको छ ।

महाकुलुङका सरोकारवालाहरुले स्थानीयको अवरोध हटाउन र काम सूचारु गर्न जनप्रतिनिधिहरुले चासो नदेखाएको गुनासो गरेका छन् । महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको, स्थानीय सरकारसंग समन्वय गर्न नचाहेको प्रतिक्रिया दिए । पटक पटकको सम्पर्क कोशिसमा पनि कम्पनीका संचालक सम्पर्क नआउनु र विवाद बाहेक गर्न मिल्ने काम पनि सुस्त गर्नुले निर्माण कम्पनीको चरम ढिलासुस्ति देखिएको अध्यक्ष किराँतीको भनाई छ ।

चालु आर्थिक बर्षमा उक्त सडक निर्माणको लागि डेढ करोड बजेट विनियोजन भएको छ । बहुबर्षिय आयोजना भएकाले कामको प्रगती अनुसार बर्षेनी आवश्यक बजेट विनियोजन हुने पुर्वाधार विकास कार्यालय ओखलढुंगाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार