‘कुनै दिन क्लिक भइएला भन्ने आशा छ’

  हिमाल समाचार  674 पटक हेरिएको

काठमाण्डौँ । ‘हिम्पी’संगीत पारखिको लागि नयाँ शब्द हो । थुलुङ ,राई समुदायको भाषामा ‘कान्छी’लाई ‘हिम्पी’ भन्ने गरिन्छ । सोही शब्दलाई गायक कुमार प्रयासले गीतमा प्रयोग गरेका छन् ।

रंकाशु स्टुडियोमा रेकर्ड गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ देवेश राईले गरेका छन् । सुरज तामाङको निर्देशनमा तयार नग्मा श्रेष्ठ, सञ्जिव नाछिरिङ र कुमार प्रयासले अभिनय गरेका छन् । सरल कथामा प्रस्तुत गरिएको गीतको भिडियोमा गीतको भाव अनुसार वियोगलाई प्रस्तुत गरिएको छ । विशाल थापाले छायांकन गरेको भिडियो सम्पादन सनम मगरले गरेका हुन् ।

सोलुखुम्बुको लोखिममा जन्मेका गायक प्रयासले यसअघि पनि आधा दर्जन बढि गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । उनका ‘ऋणै ऋणको भारी बोक्दै’, ‘मिठुको भट्टी पसल’, ‘जुनको आँशु’, ‘प्रवेश निषेध’लगायतका गीत दर्शक स्रोताले मन पराएका छन् । उनको कम्पोजिसनमा ‘परेलीको बाटो हुँदै’बोलको गीत गायिका श्रेया राईले गाएकी छिन् । उनै गायक तथा संगीतकार कुमार प्रयाससँग सहकर्मी शिखर गजरकोटेले गर्नुभएको कुराकानीको सम्पादित अंश :

गीतमा ‘हिम्पी’शब्द छनौट किन गर्नुभयो ?
एउटा गीत बनाउ भन्ने मनमा थियो । गृह जिल्ला सोलुखुम्बु पुग्दा वियोगान्त कथामा गीत बनाउने काम शुरु भयो । छोडेर जाने मायालुलाई कसरी सम्बोधन गर्ने भन्नेमा ‘हिम्पी’शब्द आएको हो । सानु, निरमाया, कान्छी लगायतका शब्द गीत संगीतमा धेरै प्रयोगमा छन् । नयाँ शब्द प्रयोग गर्ने सोच अनुसार आफ्नै समुदाय (थुलुङ राई समुदाय)को बोलिचालिको भाषा ‘हिम्पी’लाई प्रयोग गरे । यसको अर्थ ‘कान्छी’लाग्छ । मैले मेरो साथीको लागि गीत बनाएको थिएँ । तर पछि आएर आफ्नै गीत, संगीत र स्वरमा रेकर्ड गराए ।

माया मैले गरेकै हो हिम्पी
किन मन दुखायौँ नी लौ ।
संयौँ जंघार तरेकै हो हिम्पी
किन बाटो मोड्यौ नी हौ ।।

भिडियो सामान्य बनेको रैछ, खर्च कति भो ?

हो, सामान्य भिडियो बनाउँ भन्ने थियो । काम पनि सोही अनुसार नै गरेको हो । तर हामीजस्तो अभाव र दबाबमा संगीत क्षेत्रमा रमाउनेहरुका लागि अरुका लागि सामान्य भनिएको खर्च पनि धेरै लाग्छ ।

सुरुवाती प्रतिक्रिया कस्तो छ ?

कमेन्ट एकदम ऊर्जावान छ । भेट्नेहरु शुरुमै ‘हिम्पी’शब्दको अर्थ सोधिहाल्छन् । मिडिया सर्पोट पनि राम्रो पाएको छु । भ्यूज कति जाला भन्दा पनि सुनेकाहरुले कस्तो प्रतिक्रिया जनाउछन् भन्ने मुख्य लाग्छ । नेपाली संगीतमा राम्रा सृजनाहरु दिउँ भन्ने मनसाय अनुसार नै अघि बढिरहेको छु ।

संगीतको शुरुवाती सर्घषपुर्ण अनुभव कस्तो छ ?

म हिमाली जिल्ला सोलुखुम्बुको पनि गाउँमा जन्मे हुर्केको व्यक्ति हुँ । मेरो गाउँ लोखिम हो । त्यही नै मेरो शिक्षादिक्षा भयो । मेरो अनुभव सुखदुखको छ । विद्यालय तहमा गीत गाइन तर जब उच्च शिक्षा शुरु भयो । जब, गाउन थाले । शुरुमा माओवादी निकट जनसाँस्कृतिक महासंघ सोलुखुम्बुले आयोजना गरेको कार्यक्रममा गाए । सल्लेरीमा आयोजित कार्यक्रममा पहिलो पटक स्टेज चढेँ । त्यस प्रतियोगीतामा संगीतकार लक्ष्मण शेष, विशेष खालिङ र सन्तोष सुब्बा जर्जको रुपमा थिए । राजेशपायल राईको ‘तिमिलाई रोजे, विश्वास गरे’बोलको गीत गाएको थिए । म त्यहाँ भलिबल खेल्न गएको थिए । त्यसअघि खास तयारी नभएकोले पनि पहिलो चरणबाटै प्रतिस्प्रर्धाबाट बाहिरिएको याद छ ।

दोस्रो प्रतियोगीता मैले महाकुलुङ (सोलुखुम्बुको दुधकोशी पारिको क्षेत्र)पुगेर सामना गरे । भलिबलसंँगै भएको ट्रयाक गायन प्रतियोगीतामा ५० भन्दा बढि प्रतिस्प्रर्धी साथीहरुमा सान्त्वना स्थान हासिल गरेको थिए । पुरस्कार एक हजार नगद पाएको थिए । त्यसबेला पनि म भलिबल टिममा समाबेश भएर गएको थिए । साथीभाइले गायनमा पनि भाग लिन आग्रह गरेपछि सहभागी बनेको थिए । त्यसपछि जिल्ला भित्र गाउँघरमा हुने प्राय कार्यक्रममा पुगेकै हुन्थे । एकदम कम हुन्थ्यो, पोजिसन हात नपारेको । साथीभाइको हौसला र प्रतियोगीतामा पाएको ऊर्जाले सेल्फ मोटिभेट भए । जस्को कारण आज म यहाँ छु ।

तपाई भलिबल पनि खेल्नुहुन्थ्यो ?

हो, खेल्थे । शुरुशुरुमा भलिबल प्रतियोगीतामा भाग लिन कार्यक्रम चाहर्थे । निकै राम्रो खेलाडी त होईन । तरपनि एक्स्ट्रा खेलाडीको रुपमा टिममा हुन्थे । जहाँ भलिबल प्रतियोगीता हुन्थ्यो । त्यहाँ साँझमा मनोरञ्जनका लागि गायन वा नृत्य प्रतियोगीता आयोजना हुन्थे । आफू सँग गाउने सामान्य रहर र साथीभाइको आग्रह अनुसार गायन प्रतियोगीतामा सहभागी बन्दाबन्दै मेरो भविष्य नै गायन बनिसक्यो । अहिले विविध अभाव र दबाबका बीचपनि सृजनालाई स्रोता दर्शक माझ प्रस्तुत गर्न छाडेको छैन् ।

तपाईको अर्को गीत छ नी, डान्सिङ बिटको ‘मिठुको भट्टी पसल’। यो गीत राम्रो हुदाहुदै पनि दर्शकको भ्यूज पाएन नी ?

यो गीतमा मैले मेरी आमाको नाम र आमाको कामलाई रोमान्टिक तवरले प्रस्तुत गरेको छु । मेरी आमाको नाम ‘मिठु’हो । उहाँले कुनै समय ‘भट्टी पसल’चलाउनुहुन्थ्यो । आमाको नाम, भट्टी पसल र त्यहाँ विक्रि हुने तरल पदार्थलाई समाबेश गरेर ‘मिठुको भट्टी पसल’गीत बनाए । यो गीत आमालाई पनि सुनाउन देखाउन पाए । निकै खुसी हुनुहुन्थ्यो । छिमेकीले आमालाई छोराले तेरो नाममा गीत बनाएछ भनेर सुनाउदा आमा अझ मक्ख पर्नुहुन्थ्यो । तर गएको बर्ष आमालाई यो घर्तिबाट गुमाए । उनै आमाप्रति समर्पित अर्को गीत रेकर्ड गरिसकेको छु । जुन गीतमा सुवाससंगम राईको शब्द र विक्रम राईको संगीतमा मेरो स्वरमा ‘अस्ताएकी आमा’सार्वजनिक गर्दैछु ।

बाटो दियौँ, माटो दियौँ, यति सुन्दर संसार दियौँ ।
तर आमा अस्ताएर निभेको साँझ दिलाइ गयौँ ।।

गीत संगीतको दुख के हो ?

मुख्य कुरा त आर्थिक नै हो । लगानी गर्ने वातावरण बनेन वा लगानी आफूसँग छैन् भने सृजनालाई दर्शक स्रोता सामू सार्वजनिक गर्न सकिदैन् । राम्रो टिमवर्कमा पनि समस्या छ । लगानी छ तर शब्द, संगीत र टिम अभावमा सृजना मर्दो रहेछ । ती सबै कुरा मिलेर सृजना बाहिर ल्याएपछि रिटर्नको वातावरण छैन् । लगानी बालुमा हालेको मानी जस्तै छ । गीत संगीतमा लागेकाको जिन्दगाी रमाइलो होला भन्ने लाग्छ तर एउटा सघर्षपुर्ण गायक, सर्जकको अभाव र दबाब कस्ले बुझिदिने । निकै समस्याका बाबजुत पनि गीत संगीतको यात्रा छाडेको छैन् । भोलि उज्वल बनाउन आज सघर्षरत छु ।

तपाईको सांगीतिक यात्रा सफलता नजिक देख्नुहुन्छ ?

गीत संगीतको नशाले गर्दा पनि निरन्तर लगानी भइनै रहेको छ । हरेक सृजनामा कुनै न कुनै कोणबाट आशा राखिन्छ । राम्रो सृजना बजारमा पठाउँ भन्ने हो । राम्रो सृजना गाउदागाउदै कुनै दिन क्लिक भइएला भन्ने आशा छ । त्यतिबेला अहिलेसम्मको सम्पुर्ण लगानी उठ्ला भन्ने आशा जिवितै छ । त्यसकारण निरन्तर संगीतमा छु ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार