दयाकृष्ण राईको कविता कृति ‘अश्वेत महावाणी’ विमोचन

  हिमाल समाचार
98 Shares

काठमाण्डौँ – कवि तथा लेखक दयाकृष्ण राईद्वारा लिखित कविता कृति ‘अश्वेत महावाणी’ जाती, धर्म, वर्ण र रङ्गभेद विरुद्धको चोटिलो प्रहार गर्ने सशक्त पुस्तक भएको साहित्यकार तथा समालोचकले बताए ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा राजधानीमा आयोजित विमोचन समारोहमा अग्रज साहित्यकारले कविता सङ्ग्रहमा समाहित कविता उच्च वैचारिक चेतनाबाट ओतप्रोत रहेको औँल्याए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुम्विद् बैरागी काँईलाले उक्त कविता सङ्ग्रहलाई नेपाली पनको बेलायती पुस्तक भएको उल्लेख गर्दै पुस्तकलाई नेपालका लागि साहित्यिक रेमिट्यान्सको संज्ञा दिए ।

उनले उक्त पुस्तकमार्फत लेखकले ज्ञान दिएर नेपालीलाई सबल बनाउन सहयोग गरेको बताए । उनले विश्व परिभेष हेरेर लेखिएको पुस्तकले रङ भेदका विभिन्न अवतार संसारभर फैलिएर रहेकाले एक अर्कामा त्यस विषयमा भएका गुनासा हट्नुपर्छ, नेपालमा मात्रै होइन विकसित देशसमेतमा रङ्भेद कायमै छ भन्ने सन्देश दिएको बताए ।
उनले थपे, “निमुखाले पनि आफ्नो कुरा भन्ने दिन आयो, हामी किन हेपियौँ, थिचियौँ, पिल्सियौँ भन्ने कुरा कविले दुई शब्दमा नै कुरा उठाई दिनुभएको छ ।”

यो कवि राईको छैठौँ कृति हो । कवितामा तेस्रो हो । छ खण्डमा कविता सङ्ग्रहित छ । पहिचान, युद्ध, यौन, भूकम्प, कोभिडलगायत विषय कविताका विषय भएका छन् । पुस्तकमा फुटनोटसमेतको प्रयोग गरेर नौलो अभ्यास भएको छ । जसबाट जो कोहीले पनि कविता सजिलै बुझ्नसक्ने खालको छ ।

पुस्तकबारे चर्चा गर्दै समाचोचक प्राडा गोविन्दराज भट्टराईले लेखक राईले विश्व चेतनाबाट प्रेरित भएर कविता लेखेको पाइएको र यस्ता कविता उनी नेपाल मै भएको भए नबन्ने जिकिर गरे । उनले थपे, “विश्वको गति र मानवीय स्थितिको समयचेत कवितामा छ, मेरो तेरो भन्ने कुरा विश्वव्यापीकरणले चुँडिएको छ, अहिले हामी सबै एक हौँ भन्ने सन्देशसहितको उच्च वैचारिक र बौद्धिक चेतछ ।”

उनका अनुसार यस्तो खालको कविता नेपालमा नआएको र यसलाई समयचेतका विज्ञबीच राखेर बहस गर्नुपर्नेमा सुझावसमेत दिए । पुस्तकको समीक्षा गर्दै समालोचक डा हरिप्रसाद सिलवाल भन्छन्, “आज पनि मानिस आधुनिक दास भएर बाँच्न विवस छन्, मान्छेमान्छे बीच जाती, धर्म र रङ्गका आधारमा विभेद छ, त्यही विद्रोहको महावाणी हो अश्वेत महावाणी ।”

उनले कवि राईलाई निबन्ध, कवितामा विचारको चोटिलो प्रहार गर्नसक्ने कविको रुपमा चित्रण गरे । कवितासङ्ग्रहमा समावेश सांस्कृतिक उत्पिडनको समस्या दक्षिण एसियामा बढी रहेको भन्दै उनले पुस्तक पहिचानको वैचारिक आन्दोलनको दस्तावेज भएको बताए ।

उनले मान्छेको इतिहासलाई धुलो चटाएको छ, मानिसलाई अमानिस बनाएको छ, केही थान घोषणा र संविधानलाई राष्ट्रिय मानिन्छ, त्यो नभइ पुस्तकले साँस्कृतिक उत्पिडनको विषयमा चिमोटेको बताए । कविता पढिरहँदा ऊर्जा दिएको भन्दै सिलवालले चोटिलो जवाफका साथै कवितामा कवित्वसमेत रहेको बताए । उनले दलित र विभेदको मात्रै विषय नभई कोरोना, भूकम्पको कहरका साथै सामाजिक र प्राचीन विश्वलाई छोएको छ भने ।

कवि श्रवण मुकारुङले जब अमेरिकामा बाराक ओवामा राष्ट्रपति भए अनि ह्वाइट हाउसमा कालो मान्छे पसे, त्यही घटनाको प्रेरणाबाट यो सङ्ग्रह तयार भएको हुनसक्ने बताए । लेखक दयाकृष्ण राइले पुस्तकमा समावेश यौन कविताको सन्दर्भ उठाउँँदै यो युद्धसँग जोडिने विषय भएकाले यौन साहित्यमार्फत समाजलाई बचाउने प्रयास गरेको उल्लेख गरे । यौनका विषयमा नेपालमा नाक खुम्च्याउने अवस्था रहेको उल्लेख गर्दै कवि राईले जहाँ विषय आउँछ, त्यहाँ खुला छलफल गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बुले बेलायतमा कर्मथलो बनाएका साहित्यकारले सन् २००८ सालमा संस्था स्थापना गरेको जानकारी गराउँदै पुस्तकका लेखक संस्थाका पूर्वअध्यक्ष राई कै कारणले संस्था यहाँसम्म आइपुगेको बताए ।

प्रतिष्ठानका अध्यक्ष गणेश राईले पुस्तक प्रकाशित गरेर प्रतिष्ठानले इतिहास रचेको बताए । उनले जसले बेलायत बनायो पछि उसैलाई डिपोर्ट गर्ने निर्णय गरिएको विगतको प्रशङ्ग जोड्दै जातिभेद र रङ्गभेद विरुद्धको सशक्त कविता सङ्ग्रह अश्वेत महावाणी हो भने ।

प्रतिष्ठानले निकालेको तीन दर्जन पुस्तकमध्य हालसम्मको यो अन्तिम पुस्तक भएको र आगामी दिनमा पनि पुस्तक निकाल्ने जानकारी पनि दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार