सोलुमा महिलाको नाममा जग्गा पास गराउने घटे

  हिमाल समाचार
105 Shares

सोलुखुम्बु – सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास (लिखत) गराउनकोे सङ्ख्या २५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घर/जग्गा पास गर्ने महिलाको संख्या २५ प्रतिशतले घटेको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १४ सय १ जनाले जग्गा पास गराएकोमा ५३२ जना महिला रहेका थिए । तर गत आर्थिक वर्षमा १३ सय ७५ जनाले जग्गा पास गराउँदा ४०१ जना मात्रै महिला रहेका छन् ।

जुन अघिल्लो आर्थिक वर्षको भन्दा संख्यात्मक हिसाबले १३१ जनाले र प्रतिशतको हिसाबले २५ प्रतिशतले कमि हो ।

गत आर्थिक वर्षको साउनमा ४७ पुरुष र २० महिला, भदौमा ३६ पुरुष र २८ महिला, असोजमा ७७ पुरुष र ३९ महिला, कार्तिकमा ६४ पुरुष र २१ महिला, मंसिरमा ११० पुरुष र ५४ महिला र पुसमा ११३ पुरुष र ४१ जना महिलाको नाममा जग्गा पास भएको छ ।

यस्तै मागमा ११३ पुरुष र ३७ महिला, फागुनमा १४३ पुरुष र ४९ महिला, चैत्रमा ९४ पुरुष र ३४ महिला, बैशाखमा ४९ पुरुष र २३ महिला, जेठमा ७९ पुरुष र ३९ महिला र असारमा ४५ पुरुष र १६ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएको मालपोत अधिकृत पदम प्रसाद अर्यालले जानकारी दिए ।

जसबाट ३१ लाख ८० हजार ४७३ रुपैयाँ राजस्व छुट भएको अधिकृत अर्यालले बताए । सरकारले महिला र दलितको नाममा घर जग्गा पास (लिखत) गर्दा २५/२५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार