नाम्गेल बने लोकतान्त्रिक शेर्पा संघ नेपालको अध्यक्ष

  हिमाल समाचार
210 Shares

सोलुखुम्बु – नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको अध्यक्षमा रामेछापका नाम्गेल शेर्पा सर्वसम्मत चयन भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा पूवप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न दोस्रो महाधिवेशनले शेर्पाको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

शेर्पा गत स्थानीय तह निर्वाचन अघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए । संघको वरिष्ठ उपाध्यक्षमा सोलुदुधकुण्ड नगरपालिकाका मेयरका प्रत्याशी तथा योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पा निर्विरोध भए भने उपाध्यक्षमा पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङवाङ निमा शेर्पा र ल्हाक्पा शेर्पा चयन भएका छन् ।

महासचिवमा आङ पेम्बा शेर्पा उप–महासचिव मिग्युर शेर्पा निर्वाचित चयन भएको बताइएको छ । संघले शेर्पा जातीको हकहित र अधिकारको मुद्धा उठाउँदै आएको छ । शेर्पाजातीको धर्म,भाषा,कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको काम संघले गर्दैआएको छ ।

सुचीकृत ५९ आदिवासी जनजातिमध्ये शेर्पा पनि एक हो । महाधिवेशनमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी करिब तीनहजार सहभागी रहेको संघले जनाएको छ ।

महाधिवेशनमा शेर्पाहरुको बाहुल्यता रहेको सोलुखुम्बु, रामेछाप, ओखलढुङगा, भोजपुर, संखुवासभा, ताप्लेजुङ लगायत विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभगी रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष शेर्पाले लोकतान्त्रिक शेर्पा संघ मार्फत समुदायभित्र राजनीतिक सचेतना जगाउनुका साथै हक अधिकार प्राप्तीका लागि पार्टीगत रुपमा पहल गर्ने प्रतिवद्धता जनाए ।

शेर्पा समुदायभित्र पनि पार्टी निकट संगठनहरुले दुर दराजमा रहेका शेर्पाहरुमा राजनीतिक सचेतना वृद्धि गर्न मद्धत गरेको महाधिवेशन प्रतिनिधि ङवाङ तेन्जी शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार