तिङला प्रदेशसभा ‘ख’मा

  हिमाल समाचार
3.4k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला आसन्न संघ र प्रदेश चुनावका लागि प्रदेशसभा ‘ख’बाट मतदान गर्ने भएको छ । यस अघि प्रदेशसभा ‘क’मा रहेको तिङलाले आसन्न निर्वाचनमा भने ‘ख’मा मतदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पा र सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाको पहलमा तिङलालाई प्रदेश सभा ‘ख’मा ल्याइएको आयोगले जनाएको छ । तिङला यसअघि नेचासल्यान गाउँपालिका वडा नम्बर ६ मा रहेको थियो । तर स्थानीय तहको सीमांकनमा असन्तुष्टि जनाउँदै तिङलावासीले २०७४ को स्थानीय, संघ र प्रदेश तिनै तहको निर्वाचन बहिष्कार गरेका थिए ।

तिङलाका लागि नेचासल्यान अपायक पर्ने भन्दै सोलुदुधकुण्ड नगरपालिकामा लैजानुपर्ने उनीहरुको माग थियो । पछि तिङलालाई सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ११ कायम भएपनि प्रदेश निर्वाचन क्षेत्र भने नेचासल्यान तिर नै राखिएको थियो । तिङलमा ५ हजार भन्दा बढी मतदाता रहेका छन् ।

आठ स्थानीय तह रहेको सोलुखुम्बुमा एक संघ र दुई प्रदेशसभा क्षेत्र रहेको छ । प्रदेशसभा ‘क’मा नेचासल्यान गाउँपालिका, थुलुङ दुधकोशी, सोताङ र महाकुलुङ गाउँपालिका छन् भने ‘ख’मा सोलुदुधकुण्ड नगरपालिका, माप्यदुधकोशी गाउँपालिका, खुम्बु पासाङ ल्हामु र लिखुपिके गाउँपालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार