सोलुखुम्बुमा काठ निकासी २ हजार क्यूफिटले घट्यो

  हिमाल समाचार
574 Shares

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा काठ निकासी २ हजार क्यूफिट भन्दा बढीले गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा काठ निकासी २ हजार ३९ दशमलव ६६ क्यूफिटले घटेको हो ।

आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनामा ६७ हजार ४ सय २६.८२ क्यूफिट काठ निकासी भएको थियो भने चालु आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा ६५ हजार ३ सय ८६.१६ क्यूफिट काठ निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा १० हजार ५ सय ६०.९९ क्यूफिट, भदौमा ३ हजार ३ सय ६५.६३, असोजमा २ हजार २७५.१५, कार्तिकमा ५ हजार ८ सय ९७.८६, मंसिरमा १४ हजार ९ सय २८.८६ र पुसमा २८ हजार ३ सय ५८.१६ क्यूफिट काठ निकासी भएको छ ।

जसबाट २३ लाख ३१ हजार ४ सय ६४ रुपैयाँ मुल्य अभिबृद्धि कर, १ लाख ५० हजार ९ सय १६ रुपैयाँ प्रदेश कर र ६ लाख २३ हजार ८ सय ४५ रुपैयाँ ४३ पैसा स्थानीय निकासी शुल्क संकलन भएको डिभिजन वन कार्यालयका फरेष्टर खेचरवाबु बास्तोलाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा आर्थिक मन्दी, बजारको समस्या, व्यवसाय गर्नेहरुले लगानी गर्न नसक्नु लगायतका कारण काठ निकासीमा गिरावट आएको हुन सक्ने अनुमान गरिएको छ । जिल्लाको विभिन्न निजि वन क्षेत्रहरुबाट काठ निकासी हुने गरेको वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार