सगरमाथाबाट नेपाली सेनाले १० हजार किलो फोहोर सङ्कलन गर्ने

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथाबाट नेपाली सेनाले १० हजार किलो फोहोर संकलन गर्ने भएको छ । ‘सफा हिमाल अभियान २०२३’ अन्तरगत सेनाले यहि चैत १४ देखि आउँदो जेठ २२ गतेसम्म कुहिने र नकुहिने गरी १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखेको हो ।

प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ । विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्ने सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ ।

सन् १९५३ मा तञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेयता सगरमाथामा मात्रै करिब १४ हजार टन फोहर तथा तीन सयभन्दा बढी मृत शरीर रहेको अनुमान गरिएको छ । यो अभियानअन्तर्गत सगरमाथासहित ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार किलो फोहर सङ्कलनको लक्ष्य राखिएको छ ।

जसमा ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट पनि १० हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनले पर्यावरणमा पुर्याएका असरलाई कम गर्ने तथा पर्वतीय अर्थतन्त्र अभिवृद्धि गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको छ ।

पर्यटक र पर्वतारोहीलाई आकर्षित गर्न तथा भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न अभियानले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ । अभियानमा सगरमाथा र ल्होत्सेका प्रमुख सेनानीसहित १३, बरुञ्चेमा सेनानीसहित नौ, अन्नपूर्णमा सहसेनानीसहित १० जना सैनिक टोलीसहित अन्य शेर्पा सहयोगी रहने छन् ।

नेपाल र नेपालीको पहिचानलाई सगरमाथाको उचाइले संसारभर नै गौरव बढाएको छ । सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहणको यात्रामा स्वदेशी तथा विदेशी गरी हजारौँको सहभागी भइसकेका छन् ।

पछिल्ला वर्षमा हिमाल आरोहण देखिएको आकर्षणले हिमाल र हिमाली क्षेत्रमा भएको प्रदूषणले हिमालको साख र सुन्दरता कायम राख्न चुनौती खडा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार