थुलुङ दुधकोशीमा सवारी भाडादर निर्धारण

  हिमाल समाचार
5k Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सवारी भाडादर निर्धारण गरेको छ । सोमबार यातायात व्यवसायीसहित बसेको बैठकले पालिका भित्रको ग्रामीण सडकमा सञ्चालित यातायातको नयाँ भाडादर निर्धारण गरेको हो । पालिका भित्रको सडकको वर्गीकरण गरी सोही अनुसार भाडादर निर्धारण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

सडकलाई पाँच क्षेत्रमा विभाजन गरी प्रतिकिलोमिटरको आधारमा बैज्ञानिक भाडा कायम गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन राईको अध्यक्षतामा वडा अध्यक्ष तथा यातायात व्यवसायी सहितको बैठकले ’क’ वर्गको सडकमा प्रति किलोमिटर १७, ’ख’ वर्गको सडकमा प्रतिकिलोमिटर १९, ’ग’ वर्गको सडकमा प्रतिकिलोमिटर २५, ’घ’ वर्गको सडकमा प्रतिकिलोमिटर २७ र ’ङ’ वर्गको सडकमा प्रतिकिलोमिटर ३० रुपैयाँ भाडादर कायम गरिएको छ ।

यसअघि निर्धारण गरिएको भाडादर अव्यवस्थित र अनुमानको हिसाबमा गरिएकाले यस पटक वैज्ञानिक उपाय अपनाइएको बताएको छ । हरेक पालिकाले भाडा निर्धारण गरी सिफारिस गरिसकेपछि जिल्ला स्तरीय बैठकले जिल्लाभरको भाडादर कायम गर्ने प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईलेब बताए ।

भाडादर अव्यवस्थित र अति महाङ्गो भएको जनगुनासो बढेपछि सोलुखुम्बु प्रशासनले समेत चासो दिएको छ । जनगुनासोलाई मध्यनजर गर्दै नयाँ भाडादर निर्धारणको गृहकार्य भईरहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार