खोटाङको सहकारीको बचत अपचलन प्रकरणमा पोखराकी पौडेल पक्राउ

सोलुखुम्बु – खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको मुद्दामा पोखराकी जसुदा पौडेल पक्राउ परेकी छन् । बचत अपचलनका कारण लगानी डुबेको भन्दै बचतकर्ताले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा सहकारीका अध्यक्ष अनिल जोशीसँगको मिलेमतोमा सहकारीबाट ऋण लगेको तर फिर्ता नगरेको पाइएपछि पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पौडेल सहकारीको ऋणी देखिएको तथा बचतकर्ताको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि चितवनबाट पक्राउ गरेर खोटाङ ल्याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताउनुभयो । सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा अध्यक्ष जोशीमार्फत पौडेलको नाममा ४८ लाख ३६ हजार ५ सय ३९ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ ।

बचत अपचलन गरेका कारण सहकारी सङ्कटमा फसेको विषयमा यसअघि आठ जना पक्राउ परिसकेका छन् । सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेको थियो । यस्तै, सहकारीका अध्यक्ष जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठ (जोशी) लाई गएको असोज १३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाण्डौबाट पक्राउ गरिएको थियो ।

बचतकर्ताले २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । २०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार शुरु गरेको सहकारीका अध्यक्ष अनिल जोशीको कोभिड सङ्क्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा ज्यान गएको थियो । त्यसपछि बचत अपचलन भएको विषय बाहिर आएको थियो ।

२०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार पनि ठप्प छ । डुबेको साँवा र ब्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैँजूको संयोजकत्वमा सङ्घर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दैआएका छन् । सहकारीको नाममा खरिद गरिएको जग्गा तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, अध्यक्ष जोशीको परिवारका सदस्यले मात्रै डेढ करोड रुपैयाँ ऋण चलाएको देखिएको बचतकर्ताको दाबी छ । तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा राखिएको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताउनुभयो ।

यो सहकारीमा झण्डै ४ हजार ५ सय बचतकर्ताको लगानी छ । एकैजनाले ४५ लाख रुपैयाँम्म बचत गरेका छन् । सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाख रुपैयाँसम्म ऋण लगेको देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार