सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यानमा निर्माणाधिन पर्यटकीय पदमार्ग निर्माणको पहिलो चरणको काम करिब ९० प्रतिशत पुरा भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित नेचासल्यान गाउँपालिकाको अगुवाइमा निर्माण सुरु भएको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको हो ।
गौरीटापदेखि चांगेस्थानसम्मको ४६ सय मिटर मध्य झण्डै ९० प्रतिशत पदमार्ग निर्माणको काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो । नेचासल्यान गाउँपालिका ४ फुर्केबाट सुरु भएर गैरी–डडेली–टावर डाँडा गौरीटाप हुँदै सोलुदुधकुण्ड नगरपालिकाको पिकेडाँडालाई अन्तिम गन्तव्य बनाउने गरि सो पदमार्ग निर्माणको काम सुरु गरिएको हो ।
गौरीटाप–चांगेस्थान ४६ सय मिटर लामो पदमार्गमा ४ वटा विश्रामस्थल निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष विना राईले बताउनुभयो । सो पदमार्ग निर्माणका लागि चालु आर्थिक बर्षमा गाउँपालिकाले १५ लाख र युएनडीपीले १५ लाख रुपैयाँ गरि ३० लाखको बजेट साझेदारी गरिएको छ ।
सो योजना निर्माण सम्पन्न भएसंगै आगामी बर्ष गौरीटाप– तिङ्ला लौरे भज्याङ – सिद्ध डाँंडा खाल्पा सिरान– डडेली र धनभीर आहाले गैरीसम्म पदमार्ग बिस्तार गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।