सोलुखुम्बु – सोलुखुम्बुका किसान यतिबेला बारीमा लगाएको कोदो भित्र्याउने काममा व्यस्त बनेका छन् । किसानले लगाउँदै आएको बाली कोदो पाक्ने समय भएकाले यहाँका किसान यतिबेला कोदो टिप्न बारीमा व्यस्त बनेका हुन् ।
मकैपछिको दास्रो अन्नबालीको रुपमा खेती गर्दै आएको कोदो पाकेकाले कोदोको बाला टिप्नमा आफुहरु व्यस्त भएको किसानहरु बताउछन् । अलैची टिप्ने काम सकिएसगै बारीमा लगाएको कोदो पाकेपछि गाउँले आपसमा अर्मपर्म गरेर भित्राउन थालेको लिखुपिके गाउँपालिका २ गोलीकी शोभादेवी लामिछाने बताउनुभयो ।
उत्पादित क्षेत्रबाट कोदो नाम्चे, लुक्ला सम्म बिक्रीका लागि लैजाने गरेको छ भने धेरैजसो घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको थुलुङ दुधकोशी गाउँपालिका ९ मबराकी अनिता विश्वकर्माले बताउनेभयो । यसवर्ष पनि कोदो उत्पादन राम्रै भएकाले किसानहरु उत्साहित बनेका छन् ।
यद्यपि कोदोको मुल्य बजारमा उचित नभएको उनीहरु बताउछन् । जिल्लाको नेचासल्यान, लिखुपिके, थुलुङ दुधकोशी, सोलुदुधकुण्डको तिङ्ला, सोताङ, महाकुलुङ लगायतका स्थानमा कोदो खेती गरिदै आएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।